
तुलसीपुर, २५ कात्तिक । शनिबार विहान परेको वर्षाले धान भित्र्याइरहेका किसान समस्यामा परेका छन् । काटेर खेतमै रहेको धान भित्र्याउने सुरसारमा रहेका किसानहरु विहानै ५ वजेदेखि पानी पर्दा धान भिज्ने भयो भन्दै चिन्तित भएका हुन् । घरमा भित्र्याउन बाँकी रहेको धान एकै ठाउँ अर्थात खल्यानमा राखेका किसानहरुले त्रिपालले धान छोपेर भिज्न नदिएको बताएका छन् भने खेतमै रहेको धान भने आज विहानैदेखि बोक्न थालेका छन् । कुनै किसानहरु थ्रेसर लगाइरहेका छन् । सिंचाइको सुविधा भएको र छिटो खेती लाग्ने दाङको देउखेरी क्षेत्रमा भने यसअघि नै धान भित्र्याइसकेका छन् । भने तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण गाउँपालिका लगायत पश्चिम क्षेत्रका किसानहरुले अझै धान भित्र्याइसकेका छैनन् । तुलसीपुर उपमहानगरपालिका १० का कृषक प्रकाश चौधरीले रातभरी नसुतेर थ्रेसर लगाएको डेढ विगाहको धान घरमा लैजान नपाउँदै पानी परेपछि मन धेरै आत्तिएको बताउनुभयो । धानमा थ्रेसर लगाएर भर्खरै सकेका थियौँ पानी त पर्न थाल्यो, अव यति धेरै धान सार्न पनि समय लाग्छ, खल्यानमै राखौँ भने झन ठूलो पानी परेर भिजाउने होकी भन्ने भयो, त्यस कारण पानी पर्दै भिजाउँदै, आफू पनि भिज्दै धान घरमा ओसा¥यौँ, उहाँले भन्नुभयो । ठूलो पानी परेको भए त बर्बादै हुने बताउँदै सानो पानी परेकाले त्यति असर नपुगेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र दाङका अनुसार यसवर्ष जिल्लामा ३५ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।
