थर्काेट समाचारदाता
तुलसीपुर ७ भदौ । 

नवगठित पार्षद सदस्यहरूको परिचयात्मक कार्यक्रम आइतबार तुलसीपुर उपमहानगरपालिका–९ थर्पुडाँडामा सम्पन्न भएको छ। 
अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर -९ नमुनानगरकाे आयोजनामा  सम्पन्न साे कार्यक्रममा खानेपानी संस्थाको संस्थागत विकास, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा समन्वय मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । संस्थाका अध्यक्ष दशरथ ओलीको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका–९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख

आतिथ्यता तथा  तुलसीपुर उपमहानगरपालिका –३ का वडा अध्यक्ष वीरबहादुर वि.क. ‘विजय’ र खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न जनप्रतिनिधि, संस्थाका पदाधिकारी तथा पार्षद सदस्यहरूको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष घनश्याम ढकालले खानेपानीजस्तो आधारभूत सेवाको व्यवस्थापनमा सबै पक्षबीच सहकार्य र पारदर्शिता आवश्यक रहेको बताउनु भएकाे थियो।

उहाँले खानेपानी आयोजनालाई दिगो र व्यवस्थित बनाउन उपभोक्ता, संस्था तथा स्थानीय सरकार बिच निरन्तर समन्वय हुनुपर्नेमा जोड दिनुभएकाे थियो । नयाँ पार्षद सदस्यहरूको सक्रिय सहभागिताले संस्थाको सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै उहाँले उपभोक्ताको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नु भएकाे थियो। त्यस्तै, कार्यक्रममा संस्थाका अध्यक्ष दशरथ ओलीले नवगठित पार्षद सदस्यहरूलाई संस्थाको जिम्मेवारी र उद्देश्य अनुसार सक्रिय भएर काम गर्न आग्रह गर्नु भएकाे थियो। उहाँले खानेपानी आयोजनालाई व्यवस्थित, भरपर्दो र दीर्घकालीन रूपमा सञ्चालन गर्न संस्थागत एकता आवश्यक रहेको उल्लेख गर्दै सबैको सुझाव र सहकार्यबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे थियो। उपभोक्तालाई सहज, नियमित र गुणस्तरीय खानेपानी उपलब्ध गराउनु संस्थाको मुख्य दायित्व रहेको उहाँले बताउनु भएको थियो।

साे कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका  –८ का वडा सदस्य तुलप्रसाद खराल,   अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर -९ नमुनानगरकाे सल्लाहकारहरुमा  प्रदीप ओली, दुर्गा शर्मा, किरण केसी, तथा संस्थाका प्रमुख सुशीलकुमार काफ्ले लगायतले सहभागिता रहेको थियो । कार्यक्रममा नवगठित पार्षद सदस्यहरू बिच परिचय आदानप्रदानसँगै खानेपानी आयोजनाको वर्तमान अवस्था, संस्थागत जिम्मेवारी, उपभोक्ताका समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समेत छलफल गरिएको थियो। संस्थाका कोषाध्यक्ष लालबहादुर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सस्थाका सचिव मुक्ति प्रसाद भट्टराईले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds