दाङ, १८ असार
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश नम्बर क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, साङ्गेताडा क्षेत्रमा दुर्घटनामा परेको छ।
दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्यलाई तीव्र बनाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलबाट करिब ४ सय मिटर तलको भिरमा अड्किएको एक पुरुषको शव फेला परेको छ। शव निकाल्ने प्रयास जारी रहेको छ भने अन्य यात्रुहरूको अवस्था र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। उद्धार कार्य सम्पन्न भएपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ।
