
थर्काेट समाचारदाता
तुलसीपुर २३ जेठ
दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित वेष्टर्न प्यालेस नजिकै रहेको चोकमा पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जेब्राक्रसिङ निर्माण गरिएको छ।
सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा पैदल यात्रुलाई सुरक्षित रूपमा सडक वारपार गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले जेब्राक्रसिङ निर्माण गरिएको हो। स्थानीय सरोकारवाला, सामाजिक व्यक्तित्व तथा ट्राफिक प्रहरीको संयुक्त पहलमा उक्त कार्य सम्पन्न गरिएको जनाइएको छ।

जेब्राक्रसिङ निर्माण कार्यमा वेष्टर्न प्यालेस तुलसीपुरका सञ्चालक तथा शिव सेना नेपालका केन्द्रीय सदस्य असिताव लामिछाने, जय जीव दर्शनका स्रष्टा उपेन्द्र पौडेल, ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख बिरवान रावल, ट्राफिक कार्यालय तुलसीपुरका कर्मचारी दिलीप कडेल तथा थर्कोट डट कम अनलाइनका प्रवन्धक दोर्ण के.सी. लगायतको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पालना गर्न तथा पैदल यात्रुलाई प्राथमिकता दिन चालकहरूलाई आग्रह गरेका थिए। स्थानीयवासीले पनि उक्त चोकमा जेब्राक्रसिङ निर्माण भएपछि सडक पार गर्न सहज र सुरक्षित हुने विश्वास व्यक्त गरेका छन्।
यस किसिमका जनसहभागितामूलक कार्यले ट्राफिक सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित र व्यवस्थित शहर निर्माणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

