थर्काेट समाचारदाता
दाङ, २४ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटनामा पर्दा डेढ महिने शिशुको मृत्यु भएको छ। शनिबार साँझ करिब ९ बजेको समयमा बिरामी शिशुलाई थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीमा एम्बुलेन्स दुर्घटनामा परेको हो।
हलवार स्वास्थ्य चौकीको रा १ झ २११ नम्बरको एम्बुलेन्स बिरामी शिशुलाई लिएर नेपालगञ्जतर्फ जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ। तुलसीपुर उपमहानगरपालिका–९ निवासी अनिल पुनका डेढ महिने शिशुलाई स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उपचारका लागि नेपालगञ्ज लैजाँदै गरेको थियो।


परिवारका अनुसार शिशु लगातार रोइरहने र तुलसीपुरमा बालरोग विशेषज्ञबाट थप उपचार गराउन सम्भव नभएपछि नेपालगञ्ज लैजाने क्रममा दुर्घटना भएको हो।
दुर्घटनाका क्रममा एम्बुलेन्स पल्टिँदा शिशु आमाको हातबाट झरेर सिटमुनि पुगेको र पछि सिटमुनिबाट निकालिएको परिवारले जनाएको छ। दुर्घटनापछि शिशुलाई उपचारका लागि अर्को एम्बुलेन्समार्फत नेपालगञ्जतर्फ लगिएको थियो। तर, उनको मृत्यु भएको परिवारले जनाएको छ।
यद्यपि, शिशुको मृत्यु दुर्घटनाका कारण भएको हो वा यसअघि नै रहेको स्वास्थ्य समस्याका कारण भएको हो भन्ने विषयमा प्रहरीले यकिन गरिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


दुर्घटनामा अन्य तीन जना पनि सामान्य घाइते भएको बताइएको छ।
घटनापछि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा पीडित परिवारसहितको टोलीबीच घटनाका विषयमा छलफल भइरहेको छ।
शिशुको मृत्युको वास्तविक कारण भने चिकित्सकीय परीक्षण तथा सम्बन्धित निकायको अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds