थर्काेट समाचारदाता
तुलसीपुर, दाङ ।
तुलसीपुर उपमहानगरपालिका–३ खमारीका कृषकहरूले उत्पादन गरेको खुर्सानीले उचित बजार भाउ नपाउँदा बारीमै थन्किएको छ। मेहनत गरेर उत्पादन गरेको खुर्सानी बिक्री गर्ने समयमा बजार मूल्य निकै कम भएपछि कृषकहरू निराश बनेका छन् ।
खमारी क्षेत्रका विभिन्न कृषकले यस वर्ष व्यावसायिक रूपमा खुर्सानी खेती गरेका छन्। राम्रो उत्पादन हुने आशामा लगानी र मेहनत गरेका कृषकहरूले उत्पादन पनि राम्रो भएको बताएका छन्। तर उत्पादन बजारमा लैजाने समयमा अपेक्षाअनुसार मूल्य नपाउँदा खुर्सानी बारीमै राख्नुपर्ने अवस्था आएको हो।
कृषकका अनुसार खुर्सानी उत्पादन गर्न बीउ, मल, विषादी, सिँचाइ, मजदुरीलगायतका शीर्षकमा खर्च हुने गरेको छ। उत्पादन राम्रो भए पनि बजार मूल्य कम हुँदा लागतसमेत उठाउन कठिन भएको उनीहरूको गुनासो छ। बजारमा माग र मूल्य स्थिर नहुँदा कृषकहरू थप समस्यामा परेको बताइएको छ।


“मेहनत गरेर खेती गरियो, उत्पादन पनि राम्रो भयो तर बजारमा उचित मूल्य पाइएन। सस्तो मूल्यमा बिक्री गर्नुभन्दा बारीमै राख्नुपर्ने अवस्था आएको छ,” एक कृषकले गुनासो गरे।
कृषकहरूले स्थानीय तहले कृषि उत्पादनको बजारीकरणमा विशेष ध्यान दिनुपर्ने माग गरेका छन्। उत्पादनको उचित मूल्य निर्धारण, बजारको सुनिश्चितता, कृषि उपज संकलन केन्द्रको व्यवस्था तथा व्यापारीसँग समन्वय गरिदिए कृषकलाई ठूलो राहत पुग्ने उनीहरूको भनाइ छ।

खुर्सानीलगायत स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा कृषि उपजले बजार नपाउने समस्या समाधान गर्न उत्पादनअघि नै बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। कृषकलाई उत्पादनमा मात्र प्रोत्साहन गर्ने नभई उत्पादित वस्तुको बिक्री तथा बजारीकरणमा समेत स्थानीय सरकार र सम्बन्धित निकायले सहजीकरण गर्नुपर्ने कृषकहरूको माग छ। कृषि क्षेत्रलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्य लिइए पनि उत्पादनको उचित मूल्य नपाउँदा कृषकहरू निरुत्साहित हुने अवस्था आउन नदिन सम्बन्धित निकायले समयमै पहल गर्नुपर्ने देखिन्छ। खमारीका कृषकहरूले पनि आगामी दिनमा खुर्सानी खेतीलाई निरन्तरता दिन बजारको सुनिश्चितता र उचित मूल्य आवश्यक रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds