नेपालमा गिद्धको सङ्ख्या घट्ने क्रम बढदो

Byदोर्ण के.सी.

६ आश्विन २०८०, शनिबार १३:२६ ६ आश्विन २०८०, शनिबार १३:२६ ६ आश्विन २०८०, शनिबार १३:२६

काठमाडौँ, १६ भदौ । नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको देखाएको छ । बासस्थान सङ्कटमा पर्दै जानुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका हुन् । पछिल्लो समयमा गाईबस्तु पाल्ने क्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा पनि उनीहरूको आहारामासमेत समस्या आएको देखिन्छ । डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि त्यो सिनो गिद्धले खाएमा मिर्गौलामा असर भइ केही दिनमा नै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताएकाछन् ।


औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाइ त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ ।विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एसियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने घिमिरेले जानकारी दिनुभयो ।सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको देखिएको छ ।गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।

घिमिरेका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् ।त्यस्तै हिउँदको समयमा लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान र किर्गिस्तानबाट आउने गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार तथा डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ ।त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध करिब पाँच÷पाँच सयको सङ्ख्यामा रहेको बताइएको छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारी छ ।पोखरा पक्षी समाजले विगत १० वर्षयता प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ । समाजले पोखराका पाँच ठाउँ घाचोक, पुम्दीभुम्दी, पुरानो एवम् नयाँ ल्यान्डफिल साइट र दोभिल्लामा यसवर्ष पनि गिद्ध गणना गरेको अध्यक्ष घिमिरेले जानकारी दिएका हुन् ।यसरी सबै मिलेर गिद्व संरक्षण गर्न सकेमा गिद्वहरू अकालमै मर्ने थिएननकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds