थर्काेट समाचारदाता
तुलसीपुर १६ जेठ ।
लुम्बिनी स्मार्ट स्कूलमा शिक्षकहरूका लागि क्रियाकलापमा आधारित शिक्षण सिकाइ (Activity Based Learning–ABL) सम्बन्धी चार दिने कार्यशाला सञ्चालन गरिएको छ। Lumbini Future Path Dang द्वारा सञ्चालित विद्यालयमा आज जेठ १५ गते कार्यशालाको दोस्रो दिन सम्पन्न भएको हो। विद्यालयमा अध्यापनरत ६० भन्दा बढी शिक्षक–शिक्षिकाहरूले उत्साहजनक सहभागिता जनाएको उक्त कार्यशाला शिक्षकहरूको शिक्षण शैलीलाई अझ आकर्षक, प्रभावकारी तथा बालमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक बामदेव सापकोटाले जानकारी दिनुभयो। कार्यशालामा विद्यार्थीहरूले दैनिक कक्षाकोठामा अध्ययन गर्ने विषयवस्तुलाई बालमैत्री ढङ्गले कसरी प्रस्तुत गर्ने, बालबालिकाको मनोभावना बुझेर क्रियाकलापसँग जोड्दै सिकाइलाई प्रभावकारी बनाउने तथा कक्षाकोठालाई थप आकर्षक र मनमोहक बनाउने विषयमा प्रशिक्षण दिइएको छ।
चार दिने उक्त कार्यशालाका प्रमुख प्रशिक्षक अर्जुन भट्ट रहनुभएको छ। उहाँले लो कस्ट तथा नो कस्ट सामग्रीको प्रयोगलाई प्राथमिकता दिँदै विद्यालय तथा समुदाय वरपर सहज रूपमा उपलब्ध सामग्रीहरूबाट शैक्षिक सामग्री निर्माण गर्ने र हरेक विषयलाई क्रियाकलापसँग जोडेर अध्यापन गर्ने विधिबारे प्रशिक्षण दिइरहनुभएको छ। कार्यशालामा विशेषगरी गणित विषयका जटिल तथा कठिन विषयवस्तुलाई सरल र रमाइलो तरिकाले अध्यापन गर्न विभिन्न गतिविधिमूलक सामग्री तयार गरिएको छ। त्यसैगरी सामान्य ज्ञान लगायत अन्य विषयहरूलाई पनि बालबालिकाले सहज रूपमा बुझ्ने गरी क्रियाकलापमार्फत सिकाउने योजनाहरू निर्माण गरिएको प्रशिक्षकले बताउनुभएको छन्।

विद्यालयका अध्यक्ष मोहन सुनारले नयाँ वर्ष २०८३ देखि सञ्चालनमा आएको विद्यालयले तुलसीपुर क्षेत्रमा जीवनोपयोगी, गुणस्तरीय तथा सीपमूलक शिक्षामा विशेष जोड दिने बताउनु भएकाे थियो। उहाँका अनुसार यस क्षेत्रलाई शिक्षाको केन्द्रका रूपमा विकास गर्दै बालबालिकामा क्षमता र व्यवहारिक सीप विकास गराउने विद्यालयको लक्ष्य रहेको छ। विद्यालयका स्कुल इन्चार्ज कमल भण्डारीले दाङ जिल्लामै क्रियाकलापमा आधारित शिक्षण सिकाइलाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेको विद्यालयका रूपमा लुम्बिनी स्मार्ट स्कुलले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार चार दिने कार्यशालाले शिक्षकहरूलाई दैनिक तथा वार्षिक पाठयोजना निर्माण, आन्तरिक मूल्याङ्कन र कक्षागत व्यवस्थापनमा समेत विशेष सहयोग पुग्नेछ। कार्यशालामा दैनिक रूपमा दर्जनौँ शैक्षिक सामग्री तथा विभिन्न क्रियाकलाप निर्माण भइरहेको छ। हाल विद्यालय सञ्चालनको पहिलो वर्षमै १,२५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds