काठमाण्डौं,२४ असोज । सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकाछन् । सभामुख घिमिरे असोज २४ गते बुधबार शोक वक्तव्य मार्फत् १० जना नेपालीको निधनमा दुःख व्यक्त गरी शव ल्याउन ढिलाइ नगर्न आग्रह गरेका हुन् । उनले आक्रमणमा परि घाइते भइ स्थानीय अस्पतालमा उपचाररत नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै

सम्पर्कविहीन रहेकाको खोजबिनका लागि पनि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । यसअघि इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ । गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो । यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ ।

हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ । यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् । उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् । यता इजरायलमा मारिएका नेपालीको शव तत्काल नेपाल ल्याउन नसकिने भएको छ । आक्रमणपछि मृत्यु भएका १० जना नेपालीको शव तत्काल ल्याउन नसकिने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताएकाछन् । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै नआउने उनको भनाई रहेको छ । अहिले पनि युद्धकै अवस्था रहेकाले इजरायल सरकारले पनि शव व्यवस्थापनका विषयमा केही नसोचेको उनले बताएकाछन् । यसका लागि आफुहरुले पहल गरिरहेको उनले बताएकाछन् । पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने र इजरायल सरकारले आफ्नो प्रकृया पुरा गरेर शव हस्तान्तरण गरेपछि मात्रै नेपाल ल्याइने उनको भनाई रहेको छ ।

