
काठमाडौ, २४ असोज । कर्णाली प्रदेश सरकारले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई ३ लाख रुपैयाँ दिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता कृष्णबहादुर जिसीकाअनुसार बैठकले इजरायलमा रहेका नागरिकको छिटोभन्दा छिटो उद्धार गर्न पनि सङ्घीय सरकारलाई आग्रहसमेत गरेको छ । बैठकले भदौ र असोजमा अविरल वर्षा तथा हावाहुरीलगायत प्राकृतिक प्रकोपबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा भएको बालीनाली तथा पशुपन्छीहरू क्षति भएकोमा कृषकहरूलाई ६ करोड रूपैयाँ राहत दिने निर्णय समेत गरेको छ भने बैठकले नेपाल बार एसोसिएसनको नियमित वार्षिक साधारणसभाका लागि १५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

