तुलसीपुर, २० आसोज । सल्यानको मुलपानी नजिकै भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको पहिचान खुलेको छ । घाइते हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका ४ खर्सुबास बस्ने ५३ वर्षीया चित्रा डाँगी, गाडी साहु तथा चालक सारदा नगरपालिका १० मदना बस्ने २५ वर्षीय मेघराज कुवर, त्रिबेणी गाउँपालिका ६ स्याला बस्ने ५९ वर्षीय कुमारी चन्द, लुहाम बस्ने ६३ वर्षीय हुम बहादुर बस्नेत, सोही ठाउँ निवासी ५० वर्षीया धनि बस्नेत, त्रिबेणी गाउँपालिका ४ जयचौर बस्ने ३६ वर्षीय दल बहादुर डाँगी, सल्यान सारदा नगरपालिका ३ खलङ्गा बस्ने २२ वर्षीया प्रतिमा कुवर, सारदा नगरपालिका १२ बस्ने २७ वर्षीया माया राना, छत्रेश्वरी गाउँपालिका १ मुलखोला बस्ने २४ वर्षीय खडक बहादुर बिक, २६ वर्षीया रुपा बिक, झिम्पे बस्ने १८

वर्षीया देवा बिक, ६० वर्षीय कमान सिंह बिक, दाङको तुलसीपुर ६ स्याउली बजार बस्ने ६० वर्षीय प्रेम बहादुर बुढा, बेलुवा बस्ने २० वर्षीय प्रमोसन रिजाल र सल्यानको कपुरकोट ५ जामुने बस्ने ७१ वर्षीया बिनी साहु रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिएकाछन् । यस्तै दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी करिब ४४ वर्षकी अनिता बोहरा र सल्यानको त्रिवेणी गाउँपालिका–६ निवासी ३२ वर्षकी सुनिता सुनार रहेको प्रहरीले जनाएको छ । घाइते मध्य अवस्था गम्भिर रहेका कमानसिंह र सावित्रा लगाएत केहीलाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दाङको तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस आज शनिबार दिउसो करिब ३ बजे दुर्घटना भएको थियो । विपरित दिसाबाट आइरहेको गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ ।

