थर्कोट समाचारदाता
घोराही ४(असोज
मावि सौडियारले शुक्रबारदेखि अंग्रेजी मिडियमको पठन पाठन सन्चालन गर्ने भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले विद्यार्थीको पढ्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै शुक्रबारबाट अंग्रेजी माध्यमको पठनपाठन सन्चालन गरिने जानकारी दिएका छन् ।अध्यक्ष भट्टराईले विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई प्ले ग्रुपदेखि कक्षा ५ सम्म अंग्रेज माध्यमको पढाइ सन्चालन गर्न निर्देशन दिएको विद्यालय ब्यबस्थापन समिती सदस्य जिउधन चौधरीले जानकारी दिए । चौधरीले आइतबारदेखि विद्यालयको बिहानको प्लस टु र नेपाली मिडियमको पढाई सन्चालन गर्न पनि विद्यालयका प्रअ गौतमलाई निर्देशन दिएको बताएका थिए ।विद्यालयका प्रअ गौतमले पढाइ सन्चालन गर्ने कुरामा सकारात्मक रहेको र सोही अनुसार शिक्षक र विद्यार्थीलाई जानकारी गराउने बताए । विब्यस अध्यक्ष भट्टराईले शिक्षकको जारी आन्दोलनमा विब्यसको तर्फबाट ऐक्यबद्धता जारी गर्दै जायज माग तत्काल सरकारले पुरा गरेर शिक्षकलाई कक्षा कोठामा फर्किने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । शिक्षकहरुको आन्दोलनलाई सफल बनाउन विब्यसको तर्फबाट कालोपट्टी बाधेर सरकारलाई खबरदारी गर्न शिक्षकलाई विद्यालयमा सहयोग गर्ने तर सामुदायिक विद्यालयमा दिनप्रती दिन विद्यार्थी संख्या घट्दै गइरहेकाले विद्यालय बन्द गर्ने कुरामा सहमत हुन नसक्ने अध्यक्ष भट्टराईले बताएका थिए ।
