काठमाडौं, २१ असोज । प्रहरीले आईतबारदेखि दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । जसअन्तर्गत देशभर ५० हजार पाँच सय ३० जना प्रहरी खटाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएकाछन् । दशै तिहार विशेष सुरक्षा योजना लागु भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करी लगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरी चौबिसै घण्टा खटिइने प्रवक्ता कडायतले बताएका हुन् ।

दसैँ तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको प्रहरी बललाई समेत परिचालन गरिएको छ । घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ । चाडपर्वमा आपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

