२१ आश्विन २०८०, आईतवार १५:०९ २१ आश्विन २०८०, आईतवार १५:०९ २१ आश्विन २०८०, आईतवार १५:०९
गिद्ध शिकारी चरा समुह अन्र्तगत पर्ने ठुला मांसहारी पंंक्षी हो । गिद्वहरूले आफै शिकार गर्दैनन् । गिद्वहरूले मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । गिद्वहरूले मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषीत, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूले विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन् पनि सक्छन् । खगतिगचभ पर्यावरणीय चक्र र सनातन खाद्य श्रृङखला सन्तुलन र गतिशीलताको संवाहक गिद्धको उपस्थिती पारिस्थितीकीय स्वस्थताको अनिवार्य आवश्यकता हो । गिद्धको अभाव भएमा सिनो प्रकृतीमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचांैपायाहरुमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्दछ । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्व पनि छ । हिन्दु धर्ममा गिद्धलाई शनि देवताको बहानको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरि लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मुलका लामा समुदाय आफन्तको शव गिद्धलाई खुवाउँछन र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुराउने दुतका रुपमा पुज्ने गर्छन् । यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सुचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर पनि हो । विश्वमा २३ प्रजातीका गिद्धहरू पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाती । ती मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छन् । एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग गर्ने गिद्धहरु अग्ला बलिया रुख र चट्टानी पहराहरुमा गुँड बनाई मानव वस्ती वरपर बस्न रुचाउँछन् । मानिस भन्दा आठगुणा टाढासम्म देख्ने गिद्ध सिनोको खोजीमा तीनसय किमी टाढासम्म उड्छन् । गिद्धहरु औषत तीन दिनमा एक केजी सिनो खाने गर्छन् । यस हिसाबले यउटा गिद्धले मात्र पनि एक वर्षमा १ सय २० केजी सिनोको खपत गर्दछ । आजीवन जोडी बनाउने गिद्धले गुँड निर्माण, बच्चा कोरल्ने र हुर्काउने काम दुवै भाले पाथीको साझेदारीमा सम्पन्न गर्दछन् ।
गिद्धले एक वर्षको एक प्रजनन अवधीमा एउटा मात्र फुल पार्दछ भने प्रजनन् कार्य कार्तिकदेखि शुरु भई जेठ महिनामा सम्पन्न हुन्छ । करीव डेढ दशक अघिसम्म तपाई हाम्रो गाउँ टोलमा पनि सयौको संख्यामा गिद्ध सिनोमा लुछाचुँडी गरिरहेका सहजै भेटिन्थ्यो । तर आज ती दृश्य दुर्लभ भएका छन् र यत्रतत्र सर्वत्र पाईने गिद्धहरु जीवन अस्तित्व समाप्तीको किनारामा छन् । सन् १९९० को दशकमा दक्षिण एशियामा करोडौं र नेपालमा लाखौको संख्यामा पाईने गिद्ध ९५ प्रतिशत घटेर आज केही हजारमा सिमीत हुन पुगेका छन् । भारतमा सन् १९९२ देखि २००७ सम्म डंगर गिद्ध ९९.७ प्रतिशत र सानो खैरो ९८ प्रतिशतले घटेको कुरा अध्ययनले देखाएको छ । त्यसैगरी नेपालमा पनि सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डंगर गिद्ध ९१ प्रतिशतले घटेको पाइएको छ । यसप्रकारको अकल्पनीय र अप्राकृतिक विनाशले सानो खैरो, डगंर, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन् । अति सङ्ककटापन्न प्रजाति आउने १० वर्ष्भित्र लोप हुने संभावना ५० प्रतिशत हुन्छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदाय आफन्तको शव गिद्धलाई खुवाउँछन र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुराउने दूतका रुपमा पुज्ने गर्छन् ।
सन् १९९० को मध्यदेखि दक्षिण एशियामा गिद्धको संख्यामा यसरी अप्राकृतीक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक हो । पशुमा सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशु उपचारकै क्रममा वा ७ दिन भित्र मरेमा डाइक्लोफेनेकको विषाक्तपन उक्त पशुको सिनोखाने गिद्धको शरीरमा मासुसँगै सर्दछ । जसले रगतमा युरिक एसिडको मात्रा बढाई भिसरल गाउँट गराउँदछ र मृगौलाले ‘युरिक एसिड’ छान्न सक्दैन । फलस्वरुप गिद्ध केहि दिनमै मर्छ । गिद्धहरु समुहमा खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठुलो संख्यामा मर्छन् ।
३० मिलीको एक भाएल डाइक्लोफेनेक प्रयोग गरिएको एउटै सिनोबाट मात्र पनि ३ सय ५० देखि ८ सय गिद्धहरु मर्ने भएकोले नै यो औषधी गिद्ध विनाशमा प्रमुख कारण बन्न पुग्यो । यसका साथै अरु सहायक कारणहरु बासस्थानको बिनास आहारामा कमी, अन्य विषादीको बढ्दो प्रयोग तथा अन्य शिकार गरेका मांसाहारी जनावरलाई लक्षित गरी सिनोमा विष राख्दिनाले र अवैज्ञानिक ढंगबाट विस्तार गरिएका विद्युत तार आदिले पनि जीवित सानो संख्यामा रहेका गिद्धहरुलाई झन संकटमा पा¥यो । गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र विक्रीमा प्रतिबन्ध लगाएको छ । त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्रिवितरण शुरु गरेको छ । सन् १९९० को मध्यदेखि दक्षिण एशियामा गिद्धको संख्यामा यसरी अप्राकृतिक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक हो । गिद्धलाई डाईकलोफेनेक रहित शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले सन् २००६ मा स्थानीय समुदाय तथा सामुदायीक वन उपभोक्ताको सक्रिय सहभागितामा नवलपरासीको पिठौलीमा एशियाकै पहिलो समुदाय स्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलियो । यसरी खोलिएका जटायु रेष्टुरेन्टमा गौरक्षा केन्द्रहरु छन्, जहाँ बृद्ध, असक्त र बेकामी गाईवस्तुहरु किसानहरुबाट संकलन गरी पालनपोषण गरिन्छ । खासमा गौरक्षा केन्द्र पशुहरुको वृद्धाश्रम हो । तिनीहरुको प्राकृतिक मृत्युपश्चात निश्चित स्थानमा गिद्धहरुको आहाराका लागि राखिन्छ र गिद्धहरु आई खान्छन् ।
त्यहा गिद्धको आनीबानी हेर्ने पर्यटक अवलोकन घर पनि छन जहाबाट आगन्तुकहरुले अतिसकंटापन्न गिद्धहरुको विभिन्न प्रजाती र क्रियाकलापको नजिकबाट अध्य्यन गर्नुका साथै मनोरञ्जन पनि लिन सक्दछन् । जसले पर्यटनमा टेवा पुग्नुका साथै स्थानीयबासीको जीविकोपार्जनमा समेत मद्दत गरेको छ । समुदायस्तरबाटै संचालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुरेन्टलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका पश्चिम नेपालका रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र पूर्वको सुनसरी कोशीटप्पुमा पनि विस्तार गरिएको छ । नेपालमा प्रकृतिबाट गिद्ध लोप हुनबाट बचाउने उद्देश्यअनुसार चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र (कृत्रिम बच्चा कोरल्ने स्थान) को स्थापना गरिएको छ । यस केन्द्रमा हाल ५७ वटा डंगर गिद्ध राखिएको छ । प्रजनन केन्द्रमा हुर्काईएका गिद्धहरुलाई सुरक्षित प्राकृतिक वातावरणमा पुर्नवास गराउनु नै यस परियोजनाको प्रमुख उद्देश्य हो । तर यसका लागि वातावरणमा डाईक्लोफेनेक र अन्य हानीकारक औषधीको प्रयोग र सिनोमा यसको अवशेष शून्य हुनु जरुरी छ । नेपालमा गिद्ध संरक्षण स्थानीय समुदायको प्रत्यक्ष सक्रियता, सहभागिता र अपनत्वमा संचालित र व्यवस्थित छ । जुन कार्य विश्व संरक्षण समुदायका लागि उदाहरणीय र अनुकरणीय बनेको छ । गिद्ध संरक्षणमा क्रियाशील ती स्थानीय समुदाय र संघ संस्थासँग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, औषधी व्यवस्था विभाग, नेपाल पन्छी संरक्षण संघ, राष्ट्रिय प्रकृती संरक्षण कोषले साझेदारी गरिरहेको छ । सन् २०१० मा दाङ्गबाट सुरु गरिएको जिल्लाहरुलाई पशु उपचार प्रयोगमा डाइक्लोफेनेकमुक्त गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियान हालसम्म ४६ जिल्लामा सम्पन्न भैसकेको छ । पश्चिम नेपालका सबै जिल्ला समेट्दै यसले नेपालको १,०१,१६० वर्ग किमी भू–भाग ओगटेको छ । नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९–२०१३’ को सफल कार्यान्वयन पश्चात नयाँ कार्ययोजना (सन् २०१५–२०१९) भर्खरै लागु गरिएको छ । आजसम्म गरिएका यी समग्र क्रियाकलापले गिद्ध संरक्षणमा आशाका किरण छाए पनि गिद्धहरु अझै पनि पूर्ण संकटमुक्त र सुरक्षित भईसकेका छैनन् । डाईक्लोफेनेकको अवैधानिक प्रयोग, सिनोमा विषको प्रयोग, बासस्थान तथा आहारको अभाव, प्रयाप्त संरक्षण चेतनाको कमिका साथै अन्य पर्यावरणीय चुनौती हामीमाझ विद्यमान छन् । अतः धार्मिक र सांस्कृतीक महत्व बोकेका प्रकृतीको अभिन्न अङ्ग गिद्ध र तिनको वासस्थान संरक्षण गर्दै तिनको लोपको प्रमुख तत्व डाइक्लोफेनेक र अन्य विषहरुको प्रयोगमा निरुत्साहित गर्न र प्रतिवन्ध लगाउन र गिद्ध संरक्षण सचेतना अभिवृद्धिका लागि स्थानीय सम्बन्धीत सरोकारवाला निकायहरू, विभिन्न राजनीतिक नेतृत्वहरू, समुदाय, विभिन्न संघसस्था तथा क्लबहरू, भेटेनरी व्यवसायी सबैले हातेमालो गरी जैविक सन्तुलन र सनातन खाद्यचक्रलाई दीर्घकालसम्म कायम राख्न एक आपसमा हातेमालो गर्न जरूरी छ ।