थर्कोट समाचारदाता
तुलसीपुर, २० असोज ।
दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेर मात्र नपुग्ने भन्दै अब आयोजना कार्यान्वयन र निर्माण कार्यलाई पहिलो प्राथमिकता दिनुपर्ने आवाज उठेको छ।
टरिगाउँ विमानस्थल कुनै एक दल, नेता वा सरकारको मात्र विषय नभई दाङवासीको दशकौँदेखिको अपेक्षा, जिल्लाको आर्थिक सम्भावना तथा नागरिकको सहज आवागमनसँग जोडिएको महत्वपूर्ण सार्वजनिक पूर्वाधार भएको बताइएको छ।


वर्षौँदेखि विमानस्थल विस्तारको चर्चा हुँदै आए पनि विभिन्न समयमा प्रतिबद्धता, अध्ययन तथा योजना बनेका बाबजुद अपेक्षाअनुसार काम अघि बढ्न नसकेको भन्दै अब विगतका कमजोरीको समीक्षा गर्दै परिणाममुखी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
विमानस्थल विस्तारका लागि बजेट विनियोजन हुनु सकारात्मक सुरुवात भए पनि त्यसलाई उपलब्धिका रूपमा लिएर बस्न नहुने धारणा राख्दै बजेटको प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताइएको छ। बजेट विनियोजन हुनु र आयोजना सम्पन्न हुनु फरक विषय भएकाले अब निर्माणको ठोस आधार तयार गर्नुपर्नेमा जोड दिइएको छ।


टरिगाउँ विमानस्थलको विषयलाई राजनीतिक आरोप–प्रत्यारोप, श्रेयको प्रतिस्पर्धा वा चुनावी नारामा सीमित नगरी प्राविधिक रूपमा उपयुक्त विकल्पको टुङ्गो लगाउने, आवश्यक जग्गा व्यवस्थापन गर्ने, पर्याप्त बहुवर्षीय बजेट सुनिश्चित गर्ने, जिम्मेवार निकायको भूमिका स्पष्ट पार्ने र निर्माणको समयसीमा सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।
विमानस्थल विस्तारको प्रक्रियामा स्थानीय नागरिक, जग्गाधनी, तुलसीपुर उपमहानगरपालिका, जनप्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइएको छ। जग्गा व्यवस्थापनका क्रममा स्थानीय नागरिकको अधिकार, उचित मुआब्जा तथा न्यायपूर्ण प्रक्रियालाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।


दाङको विकास कुनै एक व्यक्ति वा संस्थाको सफलता–असफलतासँग मात्र जोडिएको विषय नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विगतमा विमानस्थल स्तरोन्नतिका लागि पहल गर्ने सबैको योगदानको सम्मान गर्दै अब परिणाममुखी ढङ्गले अघि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ।
टरिगाउँ विमानस्थललाई घोषणाबाट कार्यान्वयनमा, बजेटबाट निर्माणमा र निर्माणबाट नियमित तथा भरपर्दो हवाई सेवामा पु¥याउनुपर्नेमा जोड दिँदै दाङवासीले अब आश्वासनभन्दा कामको प्रगति हेर्न चाहेको बताइएको छ।
आयोजना कार्यान्वयनका क्रममा आवश्यक समन्वय, पारदर्शिता र जवाफदेहिताका लागि आफ्नो स्तरबाट निरन्तर पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


“टरिगाउँ विमानस्थललाई राजनीतिक विवादको विषय होइन, समयसीमा, बजेट र जवाफदेहितासहित सम्पन्न गर्नुपर्ने सार्वजनिक प्रतिबद्धताको विषय बनाऔँ। विगतका कमजोरीबाट सिकौँ, वर्तमानका अवसरलाई सदुपयोग गरौँ र दाङवासीलाई परिणाम देखाऔँ,” भन्ने धारणा राख्दै यही विषयलाई सम्पूर्ण राप्तीवासीको साझा संकल्प बनाउनुपर्नेमा जोड दिइएको छ।
टरिगाउँ विमानस्थलको विकासलाई दाङको साझा सपना र त्यसको सफल कार्यान्वयनलाई सबैको साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा समेत जोड दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds