सल्यान, २० असोज । सल्यानको छत्रेश्वरी गाउँपालिकाले शंखमुल दारिमज्यूला खर्सुबास जयचौर सडक खण्डको स्तर वृद्धिको काम सुरु गरेको छ । सडक स्तरवृद्धिका लागि विहीबार सर्भे गरिएको छ । छत्रेश्वरी गाउँपालिकाको ८० लाख र संघीय समपुरक अनुदानको ८० लाख गरि एक करोड ६० लाखमा सडक स्तर उन्नती गर्न लागिएको गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले जानकारी दिएकाछन् । बाह्रै महिना सहज रुपमा गाडी सञ्चालन हुनेगरी सडक स्तर उन्नती गर्न खोजिएको छ । सर्भे टोलिसंगै स्थलगत सडक निरीक्षणमा पुगेका अध्यक्ष बुढाथोकीले प्राविधक टोलिलाई गुणस्तरिय कामका लागि निर्देशन दिएका थिए ।



सडक सञ्जालको व्यापकताले दूरी छोट्याउने मात्र नभै गाँउको उत्पादनलाई शहरसम्म पु¥याउँने, थातथालो छोड्नेको संख्यामा कमि ल्याउने तथा नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता समेत दिलाउने उनले बताए ।शंखमुल दारिमज्यूला खर्सुबास जयचौर सडक खण्डमा नाला संगै आवश्यक ठाउँमा रिटेनिङ वाल निर्माण, ह्युम पाईप तथा ग्याविन जाली, मोड सुधार लगाएतका काम हुने गाउँपालिकाका ईन्जिनियर राजाराम रिजालले जानकारी दिएका थिए । आठ मिटर चौडा सडकको मापदण्ड अनुसार स्तरवृद्धिको काम हुने छ ।

सर्वे लगत्तै अव लागत अनुमान तयारी एवम् ठेक्का प्रक्रिया अगाडी बढ्ने छ । नाला नहुँदा वर्षायाममा सडक हिलाम्मे हुने, खाल्डा खुल्डीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । सडक स्तरउन्नतीसंगै गाउँमा उत्पादित वस्तु बजार सम्म पु¥याउन तथा आवश्यक विभिन्न सामग्री गाउँसम्म ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।


