


तुलसीपुुर, २४ मंसिर ।
तुलसीपुर उपमहानगरपालिकामा स्मार्ट छोरी कार्यक्रमले यसवर्ष निरन्तरता पाउन सकेको छैन् । चालुवर्षका लागि बजेट नै बिनियोजन हुन नसक्दा कार्यक्रमले निरन्तरता पाउन नसकेको हो ।तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले चालु आर्थिक वर्षका लागि बजेट नै नहुँदा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताउनुभयो ।कार्यक्रममले निरन्तरता पाउनेबारेमा अन्यौलता हुँदा चालु आर्थिक वर्षमा जन्मिएका कुनै पनि छोरीहरुको खाता खुल्न नसकेको उहाँले बताउनुभयो ।यद्यपी गत आर्थिक वर्ष ०७९/०८० मा स्मार्ट छोरी कार्यक्रममा समावेश भएका छोरीहरूको खातामा समेत रकम जान सकेको छैन् । तुलसीपुर उपमहानगरपालिका-५ की बिना मगरले छोरी आरोहीको खातामा अहिलेसम्म रकम जम्म्मा हुन नसकेको बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले स्मार्ट छोरी कार्यक्रमलाई निरन्तर राखेको तर केहि मोडालिडी परिवर्तन गरी निरन्तरता दिने बताउनुभयो । उहाँले सबै छोरीभन्दा पनि विपन्न वर्गको छोरीलाई स्मार्ट छोरी कार्यक्रममा समेट्ने गरी कार्यक्रमलाई निरन्तरता दिने तयारीमा रहेको बताउनुभयो ।बालविवाह न्यूनीकरण गर्न र छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि स्मार्ट छोरी विहेबारी बीस वर्षपारी कार्यविधि पारित गरेपछि आर्थिक वर्ष ०७७/०७८ देखि यो कार्यक्रम लागु भएको थियो । कार्यक्रममा गतवर्षसम्म १ हजार ४१ ज्ना छोरीहरु समेटिएका छन् । कार्यक्रममा बालिका २० वर्षको हुँदासम्म उपमहानगरपालिकाले रकम जम्मा गरिदिने प्रावधान छ भने बालिका २० वर्ष पुगेपछि मात्रै रकम निकाल्न मिल्ने भनिएको छ ।

