









दाेर्ण केंसीं /आलाेक भावुक
दाङ,१६ फागुन ।
गढवा र बंगलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
दाङ्ग जिल्ला स्थित गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेल र बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेकाछन्। कोषको कार्यालय थापाथली काठमाडौंमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
गढवा गाउँपालिका तथा बंगलाचुली गाउँपालिकाका औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरु तथा स्वरोजगार भएका नागरिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरी नागरिकहरुको भविष्यमा आइपर्ने जोखिमहरुलाई न्यूनिकरण गर्नका लागि कोषसँग सम्झौता गरिएकोे गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले जानकारी दिएका हुन्।
अहिलेको सामाजिक सुरक्षा वितरण प्रणालीलाई भविष्यमा राज्यको कोषले थेग्न नसक्ने अवस्था देखिएको हुनाले नागरिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गरी सबै नागरिकहरुलाई त्यसमा जोड्न आवश्यक रहेको कोषका कार्यकारी निर्देशक अधिकारीले बताएका हुन्।
सम्झौता पत्रमा लेखिएको छ : संविधान अनुसार सामाजिक सुरक्षालाई मुलतः तिनै तहको कार्यक्षेत्र भित्र समेटिएको छ। ऐनको दफा ५ को उपदफा (२) मा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा प्रोत्साहन गर्न त्यस्तो व्यक्तिले सामाजिक सुरक्षा योजनामा गरेको योगदानको आधारमा तोकिए बमोजिमको रकम नेपाल सरकारले कोषमा जम्मा गरिदिने व्यवस्था छ भने योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम ४ को उपनियम (२) मा त्यस्ता श्रमिक तथा व्यक्तिलाई कोषका योजनामा सहभागी गराउन कोषले तोकेको रकममा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले आ(आफ्नो बजेट मार्फत तोकेबमोजिमको रकम जम्मा गरिदिन सक्ने व्यवस्था रहेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भुमिका महत्वपुर्ण रहेकोले कोष र स्थानीय तह विच सहकार्य अपरिहार्य छ।


