थर्काेट समाचारदाता
तुलसीपुर ११ असाेज
दाङमा निरन्तर भइरहेको वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
पछिल्लो अवस्थाबारे प्रमुख जिल्ला अधिकारीसँग गरिएको जानकारीअनुसार हाल राप्ती र बबई नदीको पानीको बहाव खतराको तहभन्दा करिब २ मिटर तल रहेको छ। तर वर्षा निरन्तर भइरहेकाले नदीको जलस्तर बढ्न सक्ने सम्भावनालाई ध्यान दिँदै सावधानी अपनाउन आग्रह गरिएको हो।
यसैबीच, ग्वार खोलाको पुलको एक खण्ड भासिएपछि वैकल्पिक डाइभर्सन निर्माण गरी आवागमनको व्यवस्था गरिएको जनाइएको छ। त्यस्तै, तुलसीपुर–अमिलिया सडकखण्डमा अवरुद्ध सडक पनि पुनः सञ्चालनमा ल्याइएको बताइएको छ।


वर्षाका कारण सम्भावित बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। नदी, खोला, पहिरो तथा जोखिमयुक्त सडक क्षेत्रमा नजान र विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ।
सम्भावित विपद्को समयमा छिमेकी तथा समुदायका जोखिममा रहेका नागरिकलाई सहयोग गर्न र कुनै आकस्मिक अवस्था आएमा स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ। स्थानीयवासीलाई सतर्क रहन, सुरक्षित रहन र एकअर्काको सहयोगमा जुट्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds