६ योजना सुरु हुँदै घरघरमा स्वच्छ पानीका लागि छत्रेश्वरीमा

Byदोर्ण के.सी.

१४ कार्तिक २०८०, मंगलवार १४:१२ १४ कार्तिक २०८०, मंगलवार १४:१२ १४ कार्तिक २०८०, मंगलवार १४:१२

थर्कोट समाचारदाता
सल्यान, १४ कार्तिक ।
उपभोक्ताको घरघरमा सुरक्षित खानेपानीको पहुँच पुर्‍याउन सल्यानको छत्रेश्वरी गाउँपालिकामा यस वर्ष ६ वटा खानेपानी योजनाको काम सुरु भएको पालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा २०८०, २०८१ मा छत्रेश्वरी गाउँपालिकामा ६ वटा खानेपानी योजना र ४ वटा शौचालय निर्माणका योजना सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । यस वर्ष ६ वटा वडाका ८१२ घरधुरीमा सुद्ध, सफा र स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिएका छन् । गाउँपालिकाको वास प्लान अनुसार यस वर्ष प्राथमिकीकरणमा परेका ५ वटा खानेपानी योजनाको पुनः निर्माण, मर्मत र एउटा नयाँ लिफ्ट प्रणालीको योजना सम्पन्न गर्नेगरी प्रक्रिया आगाडि बढिसकेको उनको भनाई रहेको छ ।
छत्रेश्वरी गाउँपालिकाले नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियनसँगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता सुस्वा योजना अन्तर्गत खानेपानी तथा सरसफाइ क्षेत्रको समस्या समाधान गर्न योजना तथा कार्यक्रम सञ्चालन गरेको हो ।गाउँपालिकाको वास इकाईका अनुसार छत्रेश्वरीको वडा नम्बर १ मा दुधेलीगैरा खानेपानी योजना, वडा नम्बर २ मा पाङ्ग्रे खोला दमाचौर खानेपानी योजना, वडा नम्बर ३ मा बिउरे खोला दारीमज्युला खानेपानी योजना, वडा नम्बर ४ मा ढुंगाखानी हाँरिचौर खानेपानी योजना र वडा नम्बर ६ मा छहरे खोला खानेपानी योजनाको मर्मत एवम् पुनःनिर्माणको काम हुने छ भने वडा नम्बर ५ मा ढोरला चौर लिफ्ट खानेपानीको नयाँ योजना सम्पन्न हुनेछ । यस्तै ३ वटा सामुदायिक विद्यालय र एउटा सामुदायिक भवनमा वास सहितको शौचालय निर्माण हुने पनि गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिएकाछन् । उनका अनुसार जानकी मावि वडा नम्बर ३, लक्ष्मी मावि वडा नम्बर ४, सामुदायिक भवन गरिपारे वडा नम्बर ५ र नवदुर्गा आवि वडा नम्बर ७ मा वास शौचालय निर्माण हुनेछ । लैंगिक समता, अपांगता तथा सामाजिक समावेशीकरण मैत्री संरचना निर्माण हुने संयोजक केसीले जानकारी दिएका छन् । ३० चरणमा योजना सम्पन्नहुने जानकारी दिदै उनले यस वर्ष ८१२ घरधुरीमा एक घर, एक धारा पु¥याइने र पानी सुद्धिकरणका लागि प्रत्येक योजनामा ‘इनलाईन क्लोरिनेसन’ राखिने उल्लेख गरे । सबै योजनाको उपभोक्ता समिति गठन भइसकेको छ भने समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण, योजना सञ्चालन हुने ६ वटै वडामा वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको केसीले जनाएका हुन् । उपभोक्ता समितिलाई सरसफाइ र स्वच्छता, लैंगिक समता, अपांगता तथा सामाजिक समावेशीकरण, घरबारी व्यवस्थापन, बालबालिकाको सरसफाइ व्यवस्थापन लगायतका विषयमा अभिभुखिकरण गरिएको छत्रेश्वरीको वास इकाइले जनाएको छ । यस वर्ष सञ्चालन हुने केही योजनाको सर्वे, डिजाइनको काम सम्पन्न भइसकेको र केही योजनाहरूमा सर्वेको काम भइरहेको प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले जानकारी दिए । योजना सञ्चालनका लागि कति बजेट आवश्यक पर्छ भन्ने एकिन गर्नका लागि लागत अनुमान तयार भइरहेको पनि उनले जनाए । यही मंसिर महिना सम्ममा सम्पूर्ण योजनाको लागत अनुमान तयार भैसक्ने छ भने एउटा वास शौचालय निर्माणका लागि करिव १० लाख रकम खर्च हुने छ । खानेपानी योजनाहरूलाई पारदर्शी, दिगो बनाउन गाउँपालिकाको वास समितिबाट हुने अनुगमनलाई प्रभावकारी बनाइने गाउँपालिका अध्यक्ष बुढाथोकीले बताएका थिए । उनले वडा तथा वस्ती स्तरबाट पनि अनुगमन, योजनामा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । पालिकाको र सुस्वाको संयुक्त लगानीमा छत्रेश्वरीका नागरिकलाई शुद्ध खानेपानी, घरआँगन सफा, वातावरण संरक्षणका क्षेत्रमा देखिने गरी काम गर्ने गाउँपालिकाले जनाएको छ । वास प्लान अनुसार आगामी वर्ष फेरी अन्य स्थानका योजनाहरू सञ्चालन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds