काठमाडौ
१८ कार्तिक / सरकारले भूकम्पपीडितको उद्धार, उपचार र राहत लगायतका काममा सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । शनिबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले उद्धार, उपचार र राहत अहिलेको मुख्य नीति भएकाले यसमा सवै जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो । बैठकमा श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन समेत दिएका छन ।

अहिले मुख्य केन्द्र सुर्खेत र उपकेन्द्र नेपालगंजलाई तोकेर परिचालन र राहतका काम एकद्धार प्रणालीका साथ अघि बढाउने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बताएका छन । उनले तीन तहका सरकारबीच समन्वयका साथ उद्धार, उपचार र राहतका काम भइरहेको बताए । गृहमन्त्री श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका लागि केन्द्रीय राहत व्यवस्थापन कोषबाट ५–५ करोड तुरुन्तै पठाउने निर्णय भएको जानकारी दिएका छन।
