थर्कोट समाचारदाता
दाङ, २२ असोज ।

राप्ती राजमार्ग अन्तर्गत दाङ(सल्यान सडकखण्डमा अत्यधिक मात्रामा सवारी दुर्घटना बढ्दै गएपछि राप्ती राजमार्गमा ‘टाइम कार्ड’ लागु गर्ने योजना गरिएको छ । दुर्घटना न्यूनिकरणका लागि राप्ती राजमार्ग अन्तर्गत दाङ(सल्यान सडकखण्डको दाङको गोठीखोला देखि सल्यानको लुहामसम्म ‘टाइम कार्ड’ लागु गर्ने योजना गरिएको हो । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका गर्न ‘टाइम कार्ड’ लागु गर्नका लागि सम्बन्धित निकायसम्म पहल गर्ने निणर्य गरिएको सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिएका थिए । राप्ती राजमार्ग अन्तर्गत दाङ(सल्यान सडकखण्डमा पछिल्ला दुर्घटनाको अवस्था हेर्दा सडकको कारण भन्दा पनि चालकको लापरबाहीले बढी भएको देखिएकोले दाङको गोठी खोलादेखि सल्यानको लुहामसम्ममा ‘टाइम कार्ड’ लागु गर्न आवश्यक पहल गर्ने निणर्य गरेको अध्यक्ष पुनले बताएका हुन् । राप्ती राजमार्ग अन्तर्गत दाङ(सल्यान सडकखण्डको सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा शनिबार दिउँसो मात्रै यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए ।


त्यसैगरी चाडपर्वको समयमा अन्य समयमा भन्दा बढी दुर्घटना हुने भएकाले चालकलाई अनुशासित गराउन शुभकामना कार्डसंगै जानकारीमूलक सन्देश प्रवाह गर्ने उनले बताएका थिए। चालक अनुशासित भएपछि दुर्घटना धेरै मात्रामा न्यूनिकरण हुने उनको भनाई रहेको थियो । चाडपर्वको समयमा सवारी साधनमा यात्रुको चाप बढी हुने भएकाले सकेसम्म सिटभन्दा बढी भएमा यात्रा नगर्न अध्यक्ष पुनले सबैलाई आग्रह गरेका थिए । सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन खड्काले दुर्घटना न्यूनिकरण गर्न टाईम कार्ड लागु गर्न सकिने बताउँदै टाइम कार्ड लागु गरिएपछि निर्धारित समयभन्दा ढिलो र छिटो भएमा जरिवाना गरिने सुझाब दिएका थिए । राप्ती राजमार्गमा सवारी दुर्घटना अत्याधिक हुन थालेपछि कपुरकोट गाउँपालिकामा आइतबार आकस्मिक बैठक बसेकोे हो । बैठकले दुर्घटना न्यूनिकरणका लागि आवश्यक पहल गर्ने निणर्य गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले जानकारी दिएका थिए । यस्तै सडकमा सचेतमूलक ट्राफिक चिन्ह, सुचनामूलक बोर्डहरु पनि राख्ने निणर्य गरिएको उनले बताएका थिए ।


