काठमाण्डौ, ११ कात्तिक । हिन्दुहरूको महान पर्व बडादशैँ पर्व आजदेखि समापन हुँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज बेलुकाबाट १५ दिन लामो दशैँ पर्व समापन हुँदैछ । शास्त्र अनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम भने हिजो बेलुका नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि हिजो नै सकिएको छ । जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगेर सेलाइएको छ । व्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ । तर, आज टीका लगाउनेले जमरा लगाउँदैनन् । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । यस्तै, कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि शुरु गरिँदैछ । आकाशदीपदान पनि आजै बेलुकादेखि शुरु गरिने छ ।

