सल्यान, २७ असोज ।
कर्णाली प्रवेशको नाका क्षेत्र सल्यान कपुरकोटमा शनिबार एक कार्यक्रमको आयोजना गरि विभिन्न कार्यालय र संघ संस्थाहरुको मिलन केन्द्र गठन गरिएको छ । एक आपसको समन्वय र सहकार्यलाइ अटुट समन्वय र गाढा सहकार्यमा रहि झनै प्रभावकारी बनाउनका लागि कपुरकोट गाउँपालिकालाई कार्यक्षेत्र बनाएर कृयाशिल कार्यालय र संघ संस्थाहरुको मिलन केन्द्र गठन गरिएको हो । कपुरकोट गाउँपालिकाको आयोजनामा ३१ वटा कार्यालय र संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको बैठकले ९ सदस्यीय मिलन केन्द्र गठन गरेको हो । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारी संरक्षक रहने गरि निर्माण भएको केन्द्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वली अध्यक्ष तथा उपाध्यक्षमा बनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख डा. मित्र पाठक, सचिवमा अदुवाबाली अनुसन्धान कार्यक्रमका निमित्त कार्यालय प्रमुख दल बहादुर केसी, सहसचिवमा नेपाल स्काउटका सह संयोजक हिमा कुमारी डांगी , कोषाध्यक्षमा चेतना सहकारी संस्थाका ब्यबस्थापक रिना भडेंल छन् । सदस्यहरुमा इलाका हुलाक कार्यालयका प्रमुख युवराज पोखरेल , कपुरकोट बजार ब्यबस्थापन समितिका अध्यक्ष कुवेर खत्री, कपुरकोट प्रहरी चौकी इन्चार्ज रतन शर्मा र कपुरकोट कृषि सहकारी संस्थाका ब्यबस्थापक लिला एरी रहेका छन् । मिलन केन्द्र गठन कार्यक्रममा बिजयादशमीको सुभकामना आदानप्रदान भएको थियो भने सबै कार्यालय र संस्थाहरुले आपसी सहयोग र सहकार्य गरेर काम गर्ने, कपुरकोट गाउँपालिकाले सञ्चालन गरीरहेको कपुरकोट जागरण बर्ष अभियान २०८०।८१ लाई सबैले समर्थन तथा सहयोग गर्ने समेत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिएकाछन् । मिलन केन्द्रले अन्तर निकाय समन्वय ,सहकार्य, गुणासा सम्बोधन र समस्या समाधान गर्ने साझा मञ्चका रुपमा काम गर्ने उनको भनाइ रहेको छ । अव मिलन केन्द्रको नियमित मासिक बैठक बसि गाउँपालिका र सम्बन्धित कार्यालयका बिबिध गतिबिधिहरुमा छलफल तथा बिचार बिमर्श गरिने पनि उनले बताएका थिए ।

