




दाेर्ण के.सी.
सल्यान ६ पुस
यस छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीले आज दमाचौर साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारणसभाको उद्घाटन गर्नुभएको छ । वडा नम्बर १ स्थित भानुभक्त माध्यमिक बिद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्षले सहकारीलाई अझ राम्रो बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । स्थानिय स्तरमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भरताका लागि सहकारीको भुमिका महत्वपुर्ण हुने धारणा राख्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री बुद्ध कुमारी खत्री, वडा नम्बर १ का वडा अध्यक्ष श्री प्रकाश हमालले मन्तव्य





प्रस्तुत गर्दै सहकारीको वित्तीय स्थिति, व्यवस्थापनमा जोड दिनुभयो । सहकारीका अध्यक्ष श्री चित्रा शर्माले संचालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै दमाचौर साना किसान कृषि सहकारीको कुल पुजी ८ करोड ३ लाख ५३४ रुपैया रहेको उल्लेख गर्नुभयो । आर्थिक बर्ष २०८०/०८१ मा सहकारीले ८६ लाख ७ हजार ९६० रुपैया आम्दानी गरेको छ भने ७१ लाख ९२ हजार ३५१ रुपैया खर्च गरेर १४ लाख १५ हजार ६०९ रुपैया मुनाफा गरेको छ । एक बर्षको अवधिमा सहकारीले १ करोड ९९ लाख २५ हजार ६६१ रुपैया निक्षेप संकलन गरेको छ । सहकारीले विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रमहरु संचालन गरेको जनाएको छ ।

मकैको बीउ बितरण, बित्तिय साक्षरता संगै पशुपालन तथा तरकारी खेती एवम कृषि क्षेत्र विकास कार्यक्रमहरु संस्था आफै र केही अन्य निकायहरुसंगको सहकार्यमा संचालन गरिएको जनाएको छ । ११४ समुहका ६८७ घरपरिवार दमाचौर साना किसान कृषि सहकारी संस्थामा आवद्ध रहेका छन् । यो सहकारी २०७२ सालमा स्थापना भएको थियो ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ महिला विकास सदस्य तथा सहकारीका संस्थापक अध्यक्ष श्री देवी चन्द, हरियाली साना किसान कृषि सहकारी गंगादेव रोल्पाका अध्यक्ष श्री राम बहादुर खत्री, उत्कृष्ट किसान छत्रेश्वरी २ का श्री बेल बहादुर घर्तीले पनि मन्तव्य प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा लेखा समिति संयोजक श्री काली बहादुर चन्दले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यस्तै सहकारीका प्रवन्धक श्री मिलन वलीले आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यस सहकारीको हालसम्मको ऋण लगानी ६ करोड ७० लाख ५५ हजार रहेको छ । मुख्य लगानी पशुपालन, तरकारी खेती, फलफुल खेतीमा रहेको छ । बार्षिक साधारणसभा कार्यक्रममा वडाका जनप्रतिनिधि, विभिन्न संघ, संस्था, कार्यालयका प्रमुख प्रतिनिधि, सहकारीका विभिन्न समितिका संयोजक, सदस्यहरु लगायतको उल्लेख्य सहभागीता रहेको थियो । सहकारीका फिल्ड सहायक श्री दिपक गिरिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहकारीका सहायक प्रवन्धक श्री चन्द्रा न्यौपानेले गर्नुभएको थियो ।



