थर्काेट समचारदाता
दाङ, ६ असोज । दाङका प्रमुख नदी बबई र राप्तीमा बाढीको जोखिम बढ्न सक्ने भन्दै नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो मौसम अवस्था तथा वर्षाका कारण नदीको जलसतह बढ्न सक्ने सम्भावना रहेकाले प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमानसम्बन्धी सूचनामा बबई तथा पूर्वी र पश्चिम राप्ती नदीमा जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ। नदी तथा खोलाको बहावमा अचानक वृद्धि हुन सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

दाङ जिल्लाबाट राप्ती र बबई गरी दुई प्रमुख नदी बग्ने गरेका छन्। यसबाहेक जिल्लाका विभिन्न क्षेत्रमा रहेका साना तथा सहायक खोलानालामा समेत वर्षाका कारण पानीको बहाव बढ्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विशेषगरी नदी, खोला तथा खोल्साको आसपासमा रहेका बस्तीका नागरिकलाई अनावश्यक रूपमा नदी किनारमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा राख्न र रातिको समयमा नदी तथा खोला पार गर्ने जोखिमपूर्ण कार्य नगर्न आग्रह गरिएको छ।
त्यस्तै, लगातार वर्षा भइरहेको अवस्थामा सडक तथा पुलमा पानीको बहाव बढेमा जबर्जस्ती आवतजावत नगर्न, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने सूचना पालना गर्न र सम्भावित विपद्को अवस्थामा तत्काल सुरक्षित स्थानतर्फ जान प्रशासनले अनुरोध गरेको छ।


जिल्ला प्रशासन कार्यालय दाङले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्राथमिकतामा राख्दै आवश्यक सूचनाहरू सार्वजनिक गर्दै आएको छ। कार्यालयले घोराहीबाट सेवा दिइरहेको छ र आपत्कालीन अवस्थामा सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गर्न सकिने जनाएको छ।

सम्भावित बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि समयमै सचेत र सुरक्षित रहनु नै सबैभन्दा महत्वपूर्ण भएकाले नदी तथा खोला आसपासका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds