
थर्काेट समाचारदाता
तुलसीपुर,६ दाङ।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका नव विर्वाचित केन्द्रीय अध्यक्ष खेमराज वलीले सरकारले हरेक नागरिकको घरमा निशुल्क खानेपानी पुर्याउनुपर्ने बताउनुभएको छ। प्रेस सेन्टर तुलसीपुर नगर समितिले आयोजना गरेको बधाई तथा पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानले हरेक नागरिकलाई शुद्ध खानेपानी प्राप्त गर्नु मौलिक अधिकारको प्रत्याभूति गरे पनि व्यवहारमा लागु हुन नसकी कागजमा मात्र सिमित रहेको बताउनुभएकाे थियो। उहाँले भन्नुभयो,-“सरकारले चारवटा मोडेलमा खानेपानी क्षेत्रमा काम गरिरहेको छ। कुनै मोडेलमा निशुल्क छ भने कतै शुल्क लिइएको छ। यसले नागरिकहरूबीच विभेद पैदा गरेको छ। सबैलाई समान रूपले निशुल्क खानेपानी उपलब्ध गराउनु सरकारको दायित्व हो।”वलीले एशियाली विकास बैंक (Adb) बाट एक प्रतिशत ब्याजदरमा लिइएको कर्जा खानेपानी संस्थाहरूलाई ८ प्रतिशतमा लगानी गरेर राज्यले नै व्यापार गरेको आरोप लगाउनु भएकाे थियो। “यो नीति संस्थाहरूका लागि ठुलो आर्थिक बोझ बनेको छ। ठुलो धनराशी व्याजमै गइरहेको छ । ३ प्रतिशत ब्याजदर कायम गर्न नीतिगत रूपमा पहल गरिरहेको जानकारी गराउन चाहन्छु,” । यस्तै खानेपानी वितरणका लागि प्रयोग हुने विद्युत महसुलमा छुट आवश्यक रहेको भन्दै उहाँले यसका लागि पनि पहल शुरु भैसकेको जानकारी दिनुभएकाे थियो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले लुम्बिनी प्रदेश सरकारले लिएकाे खानेपानी क्षेत्रप्रतिको नीति प्रभावकारी नभएको बताउनुभएकाे थियो । उहाँले वर्तमान सरकारको खानेपानी सम्बन्धी नीति र योजना अपर्याप्त भएको बताउँदै जनघनत्व बढ्दै जाँदा अनुकूल हुन नसकेको जिकिर गर्नुभएकाे थियाे । उहाँले भन्नुभयो-“खानेपानी जस्तो आधारभूत सेवामा ध्यान दिन नसक्नु नागरिकप्रतिको अन्याय हो। अब सरकारले जनघनत्वको भविष्यलाई ध्यानमा राखेर दीर्घकालीन नीति बनाउनुपर्छ”। कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संसथाका उपाध्यक्ष सिताराम शर्मा,नेकपा माओवादी तुलसीपुरका इन्चार्ज डिल्ली अधिकारी, प्रेम प्रभात वली लगातले शुभकामना मन्तव्य राख्नु भएको थियो । नवनिर्वाचित केन्द्रिय अध्यक्ष ओली तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वि.सं २०६४ सालदेखि लगातार चार कार्यकाल अध्यक्ष रहनुभएको थियो भने महासंघको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । प्रेस सेन्टर तुलसीपुरका उपाध्यक्ष विशाल परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव रिता केसीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन अध्यक्ष टेकराज भण्डारीले गर्नुभएको थियाे ।

