



सल्यान, २४ मंसिर । सल्यान जिल्लाको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना निर्माण हुने भएको छ । वन तथा वन्यजन्तुको संरक्षणको पाटोमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्यले डिभिजन वन कार्यालय सल्यानले कार्ययोजना निर्माण गर्न लागेको हो । कार्ययोजना निर्माण प्रयोजनार्थ प्रारम्भीक वातावरणीय परिक्षण प्रतिवेदन तयारीका लागि आइतबार जिल्लाको छत्रेश्वरी गाउँपालिका तथा वनगाड कुपिण्डे नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । छत्रेश्वरीमा सम्पन्न कार्यक्रममा पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजनाको कार्यान्वयनले पार्ने सकारात्मक र नकारात्मक प्रभावहरु, वातावरणीय व्यवस्थापन योजना तथा डिभिजन वन कार्यालयको प्रतिबद्धता लगाएतका विषयमा छलफल तथा आवश्यक निर्णयहरु भएको प्राविधिक वन रक्षक देव बहादुर खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले स्थानीय वासिन्दाको वन पैदावारको आवश्यकता परिपुर्ती गरी सामाजिक, आर्थिक विकास एवम् स्वस्थ वातावरण प्रवद्र्धन हुने गरी योजना कार्यान्वयन हुनुपर्ने धारणा राख्नुभएको छ । उहाले वनको संरक्षण, सम्बद्र्धन एवम् विकासका क्रियाकलापहरु निरन्तर सञ्चालन हुनुपर्ने र वनजंगलमा हुने अवैध चोरी, निकासी, अतिक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै जिम्मेवार पूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।




गाउँपालिकाका प्रवक्ता फौद बहादुर वस्नेतले स्वदेशको काठ प्रयोगमा समस्या हुने तर विदेशबाट एक वर्षमा अरबौँ रुपैयाँको काठ र फर्निचर आयात भइरहेको अवस्था दुखद भएको बताउँदै स्वदेशमै पर्याप्त काठ भए पनि विक्रि तथा खरिद गर्ने झन्झटिलो सरकारी प्रक्रिया सच्याउनुपर्ने धारणा राख्नुभयो । डिभिजन वन अधिकृत जितेन्द्र महतले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना स्वीकृत भएपश्चात उपभोक्ताहरुको आयआर्जनमा योगदान पुग्ने, जिल्लामा वन पैदावारको आपुर्तिमा सहज हुने, वन पैदावारको बिक्री वितरणबाट राज्यको राजश्व आम्दानीमा वृद्धि हुने, वन तथा वन्यजन्तुको साथै जैविक बिबिधताकै संरक्षण हुने एवम् जलवायु परिवर्तनको प्रभावहरु न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा छत्रेश्वरी ४ का वडा अध्यक्ष छविलाल खत्री, स्थानीय उपभोक्ता शेर बहादुर खड्का लगाएतले सुझाव दिदै सामुदायीक वन क्षेत्रमा रोपिएका विरुवा हुर्काउन अनुगमन, निरिक्षण गर्नुपर्ने तथा आर्थिक लाभ दिने खालका विरुवा रोप्नुपर्ने बताउनुभयो । पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना (२०८०÷८१ देखि सल्यान जिल्लामा पर्ने विभिन्न प्रभावहरुको सम्वन्धमा बिभिन्न सरोकारवाला निकायका प्रमुख÷प्रतिनिधिहरुको उपस्थितिमा डिभिजन वन कार्यालयले सल्यानका सब डिभिजनहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको छ ।


