









थर्कोट समाचारदाता
तुलसीपुर, ५ पौष ।
दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–७ का २५ बर्षीय विराट शर्मा र मोटरसाइकलमा पछाडी सवार उहाँकै बुवा ५१ बर्षीय भोलानाथ शर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको थियो ।उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा १ प ३२१२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ३ प ६०४४ नम्बरको मोटरसाइकल तुलसीपुर–१८ डाँडागाउँ नजिकै आज बेलुका सवा ५ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी रा ३ प ६०४४ नम्बरको मोटरसाइकलमा सवार बुवाछोरा घाइते भएका हुन् । घाइते दुबैजनाको तुलसीपुर सिटि हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबिच दाङको तुलसीपुरमा स्कुटी दुर्घटना हुदा आमाछोरा घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ४० बर्षीया माया भण्डारी र स्कुटि चालक उहाँकै छोरा १८ बर्षीय अनुराग भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार तुलसीपुरबाट सल्यानतर्फ जादै गरेका लु।प्र ०२–००१ ७३६२ नम्बरको स्कुटी तुलसीपुर–३ सिरखोला नजिकै आज बिहान ११ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका आमाछोरालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ ।



