दोर्ण के.सी.
तुलसीपुर १५ बैशाख

तुलसीपुर । बिहीबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा तुलसीपुर –५ का राम बहादुर जिसीले स्थानीय सरकारले सडकको स्तर उन्नतीलाई समयमै चासो नदिएको कारण आफुहरू दैनिक धुलो खान बाध्य भएको बताएकाछन् । अर्का व्यक्ति शिव श्रेष्ठले पनि तुलसीपुरको ख लाईन हुँदै डुम्री गाउँसम्मको सम्बन्धीत निकायले सडकको स्तर उन्नतीमा पहल गरेमा सो सढकको नाम टिकाराम मार्ग राखिने बताएका थिए । जेष्ठ नागरिक सञ्जाल तुलसीपुरका अध्यक्ष पुर्ण बहादुर खडकाले जेष्ठ नागरिकहरूको तथयाङ्क संकलन गरि जेष्ठ नागरिकहरूको अभिलेख तयार पार्नुपर्ने, १९ वटै वडाहरूमा स्थानीय सरकारले जेष्ठ नागरिकहरूका लागि दिवा सेवा केन्द्र स्थापना गरिनुपर्ने, नगर भवन निर्माणका लागि सहजिकरण तथा बजेटको व्यवस्था लगायतका मागहरू राख्दै आफना शव्दहरू अतिथी माझ पस्किएका थिए । तुलसीपुर–५ का सन्दीप गौतमले स्मार्ट सिटी र स्पोर्ट सिटी नारामा मात्रै सीमित भएको टिप्पणी गर्दै ‘स्मार्ट सिटीका रुपमा विकास गर्ने भनिएको तुलसीपुर बजारका कुनै पनि सडकमा सडक बत्ती बल्दैनन् । घोराही रोडमा केही समयअघि विद्युत कार्यालयले बत्तीको बिल नतिरेको भन्दै लाइन काट्यो, पालिका अहिलेसम्म मौन छ । अहिले सम्पूर्ण बजार रातको समयमा अन्धकार हुन्छ’, ‘स्पोर्ट सिटीको अवस्था पनि त्यस्तै छ भन्दै आफना धारणहरू राखेका थिए । अन्य पालिकाहरुले विभिन्न खेलमा मेयर कप सञ्चालन गरिरहेका छन् । तुलसीपुरमा त्यसो हुन सकेको छैन, किन ?  वर्षौंदेखि स्थानीय सरकारको ध्यानाकर्षण गराउँदा पनि तुलसीपुर बजारको एक मात्र खेलमैदान अरनिको मैदानमा खानेपानी र शौचालयको व्यवस्थापन किन हुन सक्दैन ? ’यसका लागि स्थानीय सरकार गम्भिर बन्नुपर्ने सुझाब दिएका थिए । त्यस्तै तुलसीपुरको ल्याण्डफिल साइट क्षेत्रको शिवशक्ति टोलका गोपाल नेपालीले ल्याण्डफिल साइट व्यवस्थित हुन नसक्दा त्यस आसपासका चारवटा टोलका नागरिकहरु समस्यामा परेको बताएका थिए । ‘अहिले ल्याण्डफिल साइट क्षेत्रमा फोहोरको गन्धले बस्न सक्ने अवस्था छैन । ल्याण्डफिल साइट स्थापना गर्दा त्यहाँका नागरिकहरुसँग गरिएका सम्झौता पनि स्थानीय सरकारले बिर्सिसकेको छ’– उने बताएका थिए । ‘ग्रीन तुलसीपुर, क्लीन तुलसीपुरको नारालाई सार्थक तुल्याउन यो क्षेत्रका नागरिकहरु फोहोरको डंगुरमा बस्न तयार भएका छौं । कम्तिमा त्यहाँ दुर्गन्ध नआउने केही व्यवस्था गरिदिनु प¥यो भन्दै आफ्ना गुनासाहरू पस्किएका थिए ।
जनप्रतिनिधि र कर्मचारीहरु मात्रै उपस्थित भएर गरिएको सार्वजनिक सुनुवाइ प्रभावकारी नहुने तुलसीपुर–१२ का लालबहादुर रावतले तर्क गर्दै ‘यो हलमा अधिकांश जनप्रतिनिधि र कर्मचारीहरु मात्रै उपस्थित हुनुहुन्छ । त्यसमा पनि अधिकांश वडाध्यक्षहरु उपस्थित हुनुभएको छैन । जवाफ दिनुपर्छ भन्ने डरले हो ? ’ उनले भने ‘यो कार्यक्रममा उपस्थित हुन नसक्ने वडा अध्यक्षले वडामा सार्वजनिक सुनुवाइ गर्नुभयो कि नाईं ?  वडामा सार्वजनिक सुनुवाइ नगर्ने, पालिकाको सार्वजनिक सुनुवाइमा उपस्थित नहुने । अनि हामीले वडा तहबाट पाउनुपर्ने जवाफ कसले दिने हो ? ’भन्दै कार्यक्रममा उपस्थित नगरबासीहरूले स्थानीय सरकार समक्ष आफ्ना सुझाबहरू पस्किएका थिए । जसमा राप्ती राजमार्गको स्तरोन्नती कति साइजमा बन्ने भन्ने एकिन नहुँदा अहिले पनि राजमार्ग छेउका जग्गामा घर बनाउन समस्या भएको, पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको सुकौराकोट जाने बाटोको स्तरोन्नती हुन नसकेको, संस्थागत विद्यालयहरुले भर्नाको समयमा अभिभावकहरुबाट महंगो शुल्क असुल गरिरहँदा पनि स्थानीय सरकार मौन रहेको, पालिकाले युवाहरुलाई प्रोत्साहन गर्ने कुनै पनि कार्यक्रमहरु नल्याएकोलगायतका समस्याहरु राखे भने मेट्रो अस्पतालमा शैय्या बृद्धिभन्दा पनि सेवा बृद्धि गर्न सुझाव दिएका थिए ।

नागरिकहरुको गुनासो भौतिक विकास केन्द्रित नै थिए, जो यसअघिका सार्वजनिक सुनुवाइमा पनि आउने गर्छन् । कार्यक्रममा नागरिकहरुका प्रश्नको जवाफ दिंदै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीले पालिकाको औसत प्रगतिमा निराश हुने अवस्था नभएको दाबी गर्नुका साथै उनले आफ्नो कार्यकालमा तुलसीपुर उपमहानगरपालिकालाई विगतको तुलनामा अब्बल बनाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले काम गरे पनि नागरिकका अपेक्षा अनुसार काम हुन नसकेको स्वीकाारेकस् थिईन् । तुलसीपुर उपमहानगरपालिका नागरिकहरुप्रति उत्तरदायी भएकै कारण पालिकाले गरेका गतिविधि चार÷चार महिनामा सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्ने र नागरिकहरुका सुझाव तथा गुनासाहरु सुनेर त्यसअनुसार काम गर्दै आएको नगर प्रमुख खड्काले बताएका थिए । उनले भने ‘शिक्षकहरुको राम्रोसँग उचित व्यवस्थापन भएको थिएन । कुनै विद्यालयमा विद्यार्थीहरू धेरै, कुनै विद्यालयमा शिक्षक धेरै भएको अवस्था थियो । शिक्षा क्षेत्रमा सुधार ल्याउन ‘जहाँ विद्यार्थी, त्यहाँ‘ शिक्षक’ भन्ने नीति ल्यायौं । अहिले संस्थागत विद्यालयले लिने शुल्क र संख्याको विवरण माग गरेका छौं । सरकारी तलब खाने शिक्षक, कर्मचारीले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा अध्यापन गराउने नीति कडाइका साथ लागु गर्दैछौं’– उनले भने । ‘शिक्षा क्षेत्रमा सुधार गर्नकै लागि गत वर्ष २७ जना स्वयंसेवक शिक्षक भर्ना गरेका थियौं । यो वर्ष पनि पूर्ण प्रतिस्पर्धाबाट त्यो हाराहारीमा स्वयंसेवक शिक्षक भर्ना गर्दैछौं । गल्ने फोहोरबाट मल निकाल्न थालेका छौं भने नगल्ने फोहोरबाट सामग्री निर्माण गर्ने जनशक्ति तयार भइसकेको छ । छ सय अव्यवस्थित बसोबासी र एक सय ७३ भूमिहीन सुकुम्बासीको पहिचान गरेर उनीहरुको जग्गा नाप नक्सांकनको काम अगाडि बढाएका छौं ।’ नगर प्रमुख खड्काले मेट्रो अस्पताल महामारीको अवस्थामा स्थापना गरिएको हुँदा आगामी दिनमा आउनसक्ने महामारीमा तत्काल सेवा प्रवाह गर्ने गरी सेवा थप गर्दै स्तरोन्नति गरिने, पालिका भवनको तीनै तलासम्म अपांगमैत्री संरचना निर्माण गरिने र अन्य विकास निर्माणका कार्यक्रमहरु प्रक्रियागतरुपमा अगाडि बढाइने बताएका थिए । साथै खेलाडीहरुको प्रोत्साहनमा पनि पालिकाले काम गरिरहेको र अरनिको मैदानमा निर्माण गर्ने भनिएको खानेपानी र शौचालय स्थानीयहरुको विरोधका कारण स्थापना गर्न नसकिएको खड्काले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds