दोर्ण के.सी.
सल्यान, २१ माघ ।
एक हजार बढी किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा २२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । गाउँपालिकामा माघ २९ देखी फागुन २ गते सम्म खोप लगाउने कार्यक्रम छ । सोमबार गाउँपालिकामा एच.पि.भी. खोप अभियान, २०८१ बारे पालिका खोप समन्वय समिति र सरोकारवालाहरूको अभिभुखिकरण बैठक सम्पन्न भएको छ । कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने करिव १००४ जना किशोरीहरू र विद्यालय नजाने १० वर्ष देखी १४ वर्ष उमेर समूहका करिव ४५ जना गरेर १०४९ जना किशोरीहरूलाई खोप लगाउने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जनाएका छन् ।अभिभुखिकरण गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले लक्षित किशोरीहरू सबैलाई खोपको पहुँचमा ल्याउन र खोप अभियान सफल बनाउन सहभागीहरूले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, वडा नं ७ का वडा अध्यक्ष टेक बहादुर विष्ट सहित कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, गाउँपालिका स्थित सम्बन्धित शाखाका प्रमुख, प्रतिनिधि, महिला तथा आमा समूहका प्रतिनिधि एवम् सरोकारवालाहरूको सहभागिता रहेको थियो । छत्रेश्वरी गाउँपालिकाभित्र विद्यालयमा १५ वटा र विद्यालय बाहिर ७ वटा गरेर जम्मा २२ वटा खोप केन्द्र मार्फत खोप लगाइने तय भएको स्वास्थ्य शाखाले जनाएको छ । खोप अभियानलाई सफल बनाउन तथा खोपको महत्वबारे छत्रेश्वरी गाउँपालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुखहरूलाई यस अघि नै स्वास्थ्य सेवा कार्यालय मार्फत अभिभुखिकरण सम्पन्न भइसकेको छ । अब छत्रेश्वरी गाउँपालिकाका सबै स्वास्थ्यकर्मीहरूलाई खोप अभियानबारे अभिमुखीकरण गरिने स्वास्थ्य शाखाका प.हे.न. विमला डाँगीले जनाइन् । यसका लागि यही माघ २२ र २३ गते कार्यक्रम तय गरिएको छ । यसका अलावा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा अन्य स्वयम सेवकहरुलाई र वडा स्तरिय खोप समन्वय समितिलाई पनि अभियानबारे अभिभुखिकरण सञ्चालन हुनेछ । यदि खोप लगाइएन भने एचपीभी भाइरसको संक्रमण भई पाठेघरको मुखको क्यान्सरको जोखिम हुनसक्ने तथा नेपालमा पाठेघर मुखको क्यान्सरबाट वार्षिक दुई हजारको मृत्यु हुने गरेको तथ्याङ्क भएकाले लक्षित समूहका सबै किशोरीहरूलाई खोप लगाउन गाउँपालिकाले आग्रह गरेको छ । नेपालमा एचपीभी खोप स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा पाठेघरको क्यान्सरबाट बचाउने कार्यक्रम अन्तर्गत प्रदान गर्न लागिएको हो । र यसको प्रभावकारिता ९८ देखी शतप्रतिशत रहेको दाबी छ । एचपिभी खोपका लागि २२ खोप केन्द्र तय, एक हजार बढी किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds