दोर्ण के.सी.
दाङ, १८ पुस ।
गोर्खा मावि तुलसीपुरले आज १४ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरेर १४ औँ वार्षिकोत्सव मनाएको हो । गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले दक्ष जनशक्ति उत्पादनमा गोर्खा माविले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले गोर्खा माविले सामुदायिक विद्यालयसंग भगिनी सम्बन्ध स्थापित गरेर सामाजिक उत्तरदायित्वको कामसमेत गरिरहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारीले बालबालिकालाई असल र नैतिकवान बनाउन अभिभावक चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले विदेश पलायन नहुने विद्यार्थीलाई वडाले आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । गोर्खा गु्रपका सिइओ नवल सिं जी।एमले विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्न शिक्षक, विद्यार्थी र अभिभावक गरी त्रिकोणात्मक सम्बन्ध बलियो हुनुपर्ने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन गर्न शिक्षकलाई पनि दक्ष बनाउन निरन्तर लागिरहेको बताउनुभयो । विद्यालयका प्राचार्य बिजय जि।एमले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले विद्यालयमा अहिले तीन हजार बढी बालबालिकाले अध्ययन गरिरहेको बताउनुभयो । विद्यालयले तुलसीपुर–३ मा रहेको प्रतापकोट विद्यालयसंग भगीनी सम्बन्ध स्थापित गरेर हरेक वर्ष शैक्षिक सामग्रि सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । गोर्खा मावि तुलसीपुर वि।स। २०६८ सालमा स्थापना भएको हो । कार्यक्रमको सहजीकरण गोर्खा मोडेल कलेजका प्रमुख पूर्ण विक्रम डाँगी र प्रावि संयोजक कमल भण्डारीले गर्नुभएको हो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विज्ञान सामग्रि प्रदर्शन गरेका थिए भने विभिन्न समुदायका भेषभुषा र संस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds