❤️आलोक भावुक
गढवा, ६ श्रावण। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद–बिक्री सुरु गर्ने भएको छ।

सहकारीले २०८२ साउन ७ गते बुधबारदेखि बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म गढवा प्रहरी चौकीको उत्तरतर्फ रहेको गढवा कृषि उपज संकलन तथा बिक्री केन्द्रबाट किसानहरूले ल्याएको शुद्ध र सफा दूध खरिद गर्ने जनाएको छ।

यस कार्यका लागि गाउँपालिकाले भिटा परियोजना मार्फत बुटवलस्थित विशिष्टीकृत सहकारीसँग सरकारी दरमा मासिक भुक्तानी हुने गरी सम्झौता गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले जानकारी दिनुभयो।

यसअघि गाउँपालिकामा दूध संकलन केन्द्र सञ्चालनमा नआउँदा किसानहरूले उत्पादन गरेको दूधको समयमै भुक्तानी नपाएको गुनासो गर्दै आएका थिए। यस पटक सहकारीले सरकारी दरमा दूध खरिद गरी मासिक दुईपटक वा एकपटक अनिवार्य भुक्तानी गर्ने व्यवस्था मिलाइएको अध्यक्ष पोखरेलले बताए।

सरकारी दररेट अनुसार १ फ्याटको ७.१५ रुपैयाँ र १ एस एन एफ को ४.५४ रुपैयाँ सरकरी दररेट कायम गराएको गढवा गाउँपालिका, भिटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्माले जानकारी दिनुभयो।

दुग्धको बजार अभावमा मर्कामा परेका किसानका लागि यो कार्यक्रम आशाको किरण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds