
थर्काेट समाचारदाता
दाङ, १६ जेठ
पश्चिम दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हाे । यसरी मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका -४ हिरापुर निवासी ४७ वर्षका भोजराज के सी रहेको प्रहरीले जनाएको छ । उनीहरु बबई गाउँपालिका–७ बेलासपुर घाट बबई नदि क्षेत्रमा शनिबार बिहान माछा मार्न गएकाे बेलामा करेन्ट लागेर मृत्युभएकाे प्रहरीले जानकारी दिएकाे हाे । प्रहरीका अनुसार भोजराज केसी सहित ७ जनाको टोलीले ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा उनी घाइते भई बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा २ जना तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरूमा शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, ५३ वर्षीय मेखलाल रेउले, ४१ वर्षीय गणेश अधिकारी, २७ वर्षीय युवराज भण्डारी, ३४ वर्षीय संगम पाउ तथा शान्तिनगर गाउँपालिका–३ का गोविन्द सुबेदी रहेका छन्।
मृतक केसीको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

