
थर्काेट समाचारदाता
तुलसीपुर, २३ असोज ।
तुलसीपुर उपमहानगरपालिका–३ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा समितिले गोदाममा मौज्दात रहेको रासायनिक मल तत्काल किसानलाई वितरण गर्न माग गरेको छ।
असोज महिना हिउँदे तथा तरकारी बाली लगाउने महत्वपूर्ण समय भए पनि किसानले आवश्यक डीएपी (DAP) लगायतका रासायनिक मल सहज रूपमा प्राप्त गर्न नसकेको भन्दै रास्वपा तुलसीपुर–३ वडा समितिले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको हो।
समितिका अनुसार अहिले किसानहरू तोरी, मटर, आलु, राजमा, मुला, रायो लगायतका विभिन्न हिउँदे तथा तरकारी बाली लगाउने तयारीमा छन्। तर बाली लगाउने समयमा नै आवश्यक मलको अभाव भएपछि किसानहरू अन्योलमा परेका छन्। समयमा मल नपाउँदा बाली लगाउने समय नै प्रभावित हुने र त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्न सक्ने किसानहरूको चिन्ता छ।
गोदाममा मल छ भने किसानलाई किन दिइएन?
रास्वपा तुलसीपुर–३ समितिले आज माननीय पार्टी महामन्त्री तथा सांसद विपिन कुमार आचार्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गणेश), माननीय कमल सुवेदी, देवराज पाठक, रिमा विश्वकर्मा लगायत उपस्थित केन्द्रीय सदस्यहरूलाई लिखित मागपत्र बुझाउँदै किसानको समस्या तत्काल समाधान गर्न माग गरेको छ।

समितिले गोदाममा मल मौज्दात रहेको अवस्थामा किसानलाई आवश्यक मल वितरणमा ढिलाइ हुनुको कारणबारे प्रश्न उठाएको े
“गोदाममा मल छ, किसानलाई मल चाहिएको छ, बाली लगाउने समय आएको छ—तर किसानले मल पाएका छैनन्। आखिर यस्तो अवस्था किन आयो?” समितिले प्रश्न गरेको छ।
समितिले यदि गोदाममा डीएपी लगायत आवश्यक रासायनिक मल मौज्दात छ भने त्यसलाई किसानसम्म पुर्याउन किन ढिलाइ भइरहेको हो भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक गर्नसमेत माग गरेको छ।
मल रोक्ने अधिकार कसलाई?
समितिले सम्बन्धित निकायसँग मल कसको निर्देशनमा रोकिएको हो, वितरण प्रक्रियामा कहाँ अवरोध छ, जिम्मेवार निकाय कुन हो र किसानले कहिलेसम्म मल पाउने हुन्? भन्ने प्रश्नको जवाफ माग गरेको छ।
“गोदाममा मल थन्क्याएर किसानलाई खेतमा मल हाल्नबाट रोक्ने अधिकार कसलाई छ?” भन्दै समितिले जिम्मेवार निकायलाई तत्काल जवाफदेही बन्न आग्रह गरेको छ।

कृषि उत्पादनको मुख्य आधार नै समयमै बीउ, मल, सिँचाइ तथा प्राविधिक सेवा उपलब्ध हुनु हो। बाली लगाउने समय बितिसकेपछि मल उपलब्ध गराउँदा त्यसको उपयोगिता र प्रभावकारिता पनि घट्न सक्ने भएकाले मल वितरणमा ढिलाइ नगर्नुपर्ने समितिको भनाइ छ।
मलका लागि किसानले कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न माग
समितिले वास्तविक किसानले सहज रूपमा मल प्राप्त गर्ने गरी वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन माग गरेको छ।
मल लिनका लागि किसानले सहकारी, गोदाम तथा विभिन्न कार्यालयमा पटक–पटक धाउनुपर्ने, घण्टौँ समय खर्च गर्नुपर्ने र कतिपय अवस्थामा मल नपाई फर्किनुपर्ने अवस्था अन्त्य हुनुपर्ने समितिको भनाइ छ।
समितिले किसानलाई आवश्यक पर्ने मलको माग, उपलब्ध मौज्दात र वितरणको विवरणसमेत पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने माग गरेको छ। यसबाट मल वितरणमा हुने सम्भावित अनियमितता, पहुँचका आधारमा वितरण तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने समितिको दाबी छ।
मल अभावले उत्पादन लागत बढ्ने चिन्ता
किसानहरू आफैं पनि खेतीपातीमा संलग्न भएकाले यो विषय केवल कागजमा उठाइएको विषय नभई खेतमै भोगिरहेको समस्या भएको समितिले जनाएको छ।
समयमै मल नपाउँदा बाली लगाउने समय पछाडि धकेलिने, उत्पादन घट्ने, पुनः मल तथा अन्य कृषि सामग्री खरिद गर्नुपर्ने अवस्था आउने र अन्ततः किसानको उत्पादन लागत बढ्ने जोखिम रहेको समितिको भनाइ छ।
विशेषगरी साना तथा मध्यम किसानका लागि यस्तो समस्या अझ बढी संवेदनशील हुने भएकाले स्थानीय तहदेखि सम्बन्धित कृषि तथा आपूर्ति निकायसम्मले तत्काल समन्वय गरेर समस्या समाधान गर्नुपर्ने माग गरिएको छ।

‘किसानलाई आश्वासन होइन, मल चाहिएको छ’
रास्वपा तुलसीपुर–३ समितिले मलको विषयलाई राजनीतिक भागबन्डा, पहुँच वा दलगत स्वार्थसँग जोड्न नहुने बताएको छ।
“यो कुनै राजनीतिक भागबन्डा वा पहुँचको विषय होइन, किसानको खेत र उत्पादनसँग जोडिएको विषय हो। किसानले मल मागेको हो, आश्वासन होइन। बाली लगाउने समय आज हो, मल पनि आजै चाहिएको छ।” समितिले भनेको छ।
समितिले किसानको वास्तविक आवश्यकता पहिचान गरी आवश्यक मात्रामा मल उपलब्ध गराउन र वितरण प्रक्रियामा देखिएको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
तत्काल हस्तक्षेप गर्न माग
रास्वपा तुलसीपुर–३ वडा समितिका सभापति सन्तोष गौतम, उपसभापति प्रेमबहादुर ओली र सचिव एल.वि. सुवास क्षेत्रीद्वारा हस्ताक्षरित मागपत्रमा गोदाममा रहेको डीएपी लगायत आवश्यक रासायनिक मल तत्काल किसानलाई वितरण गर्न माग गरिएको छ।
त्यस्तै, मल वितरण रोकिएको भए त्यसको स्पष्ट कारण सार्वजनिक गर्न, जिधबञञञम्मेवार निकाय पहिचान गर्न, तुलसीपुर क्षेत्रका किसानलाई आवश्यक मात्रामा मल उपलब्ध गराउन विशेष व्यवस्था गर्न तथा किसानले समयमै मल प्राप्त गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
समितिले किसानको समस्या समाधानका लागि तत्काल आवश्यक पहल नभएमा मल वितरणको अवस्था, मौज्दात र किसानले भोगिरहेको समस्याबारे थप आवाज उठाउने संकेतसमेत गरेको छ।
कृषि प्रधान समाजमा किसानले बाली लगाउने मुख्य समयमा आवश्यक मल नपाउनु गम्भीर विषय भएकाले सम्बन्धित निकायले गोदाममा कति मल छ, कहाँ वितरण भयो, कसलाई वितरण भयो र किसानले कहिले पाउँछन् भन्ने विषयमा स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता देखिएको छ।
अब किसानको प्रश्न एउटै छ—“गोदाममा मल छ भने खेतमा किन छैन?”

