दोर्ण के.सी
तुलसीपुर, २६ फागुन÷
तुलसीपुर खानेपानी संस्थाको निर्वाचनले यतिबेला तुलसीपुर बजार जताततै खुशीयाली छाएको छ । तुलसीपुर बजारभर रौनकता छाएको छ । तुलसीपुर तथा दाङ जिल्लाभर यस निर्वाचनलाई चासोका रूपमा लिईएको छ । आगामी चैत २ गतेका दिन हुने निर्वाचनका लागि मनोनयन दर्ता र चुनाव चिन्ह वितरणको काम पनि सम्पन्न भइसकेको छ । विभिन्न दलहरूले आ–आफ्ना प्यानल बनाएर मतदाताको घरघरमा पुगेर भोट माग्न भ्याइनभ्याइ छ । यसै क्रममा उम्मेदवारहरूका बिचमा एकजना विशेष उम्मेदवार हुनुहुन्छ, संयुक्त लोकतान्त्रिक प्यानलका तर्फबाट कोषाध्यक्ष पदका उम्मेदवार सुशिला न्यौपाने । वि।सं २०२६ साल साउन २५ गतेका दिन बुवा राममणि न्यौपाने र आमा जानका देवी न्यौपानेको कोखबाट साविकको टरिगाउँ गाविस वडा नं। ७ मा उहाँको जन्म भएको थियो । त्यतिबेलाको समयमा पनि आईए सम्मको औपचारिक शिक्षा हासिल गरेकी न्यौपानेलाई सानैदेखि समाजसेवामा विशेष चासो थियो । उहाँ भन्नुहुन्छ्, “मैले जागिर खान चाहेको भए राम्रै जागिर खान सक्थेँ, तर मलाई समाजसेवा नै मेरो रुचिको क्षेत्र भएकाले जागिरतर्फ ध्यानै दिइनँ ।”उहाँसँग हालसम्म आधा दर्जनभन्दा बढी संघसंस्थामा रही काम गरेको अनुभव छ ।

प्रौढ शिक्षा अध्यापनबाट समाजसेवाको यात्रा सुरु गर्नुभएकी उहाँ भन्नुहुन्छ, “मलाई समाजका मानिसहरूसँग रहेर, समस्याहरू सुनेर समाधानका लागि पहल गर्न पाउँदा एकदमै आनन्द आउँछ ।” समाजको सेवा गर्न पाउँदा आफूलाई कहिल्यै पनि थकाइ नलाग्ने उहाँको भनाइ रहहेको छ । उहाँसँग सुकुम्बासी समस्या समाधान आयोगको सदस्यको रूपमा काम गरेको अनुभव छ । त्यसैगरी सहकारी संस्थाको लेखा समिति सदस्यको रूपमा एक अवधिसम्म काम गरिसकेकि छिन। तुलसीपुर खानेपानी संस्थाको कार्यसमिति सदस्यका रूपमा दुई कार्यकाल काम गर्नुभएको छ । साथै, तुलसीपुर खानेपानी संस्थाकै पार्सदका रूपमा उत्कृष्ट काम गरेबापत सम्मानित समेत भइसक्नु भएको छ । सानैदेखि बुवा र आमा दुवैजना सामाजिक क्षेत्रमा काम गरेको देख्दै हुर्केकी सुशिलालाई पनि समाजसेवामा विशेष रुचि जागेको हो । “मेरो बुवा पनि खानेपानी संस्थाको अध्यक्षको रूपमा गर्नुभएको थियो र आमा पनि रेडक्रस सोसाइटीमा रहेर काम गर्नुभएको हो । मेरो प्रेरणाको स्रोत नै मेरो बुवा र आमा हुन्,” उहाँ भन्नुहुन्छ । “महिलाहरू स्वभावैले इमान्दार हुन्छन् । हामीसँग कोष कसरी मितव्ययी तरिकाले चलाउने भन्ने ज्ञान, उपाय र अनुभव हुने भएकाले मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ ।” “मेरो छोरा–छोरी पनि हुर्किसकेका छन् । उनीहरूले पनि आ–आफ्नो काममा लागिसकेका छन् । मसँग कुनै लोभ छैन । प्रशस्त समय छ, अनुभव छ र जाँगर पनि छ । त्यसैले सम्पूर्ण मतदातालाई ढुक्कका साथ कोषाध्यक्ष पदमा अत्यधिक मत दिएर विजयी बनाउन अनुरोध गर्दछु ।” कोषाध्यक्ष पदका उम्मेद्धार न्यौपानेले भन्नुभएको थियो ।
