काठमाडौँ, १६ भदौ । नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको देखाएको छ । बास स्थान सङ्कटमा पर्दै जानुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधीको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका हुन् ।पछिल्लो समयमा गाईबस्तु पाल्ने क्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा पनि उनीहरूको आहारामासमेत समस्या आएको देखिन्छ । डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि त्यो सिनो गिद्धले खाएमा मिर्गौलामा असर भइ केही दिनमा नै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताएका थिए।
औषधी व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाइ त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधी बजारमा ल्याएको छ ।विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एसियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने घिमिरेले जानकारी दिएकाछन् ।सिनो खाएर हैजा, रेबिज जस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको देखिएको छ ।गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।

घिमिरेका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् ।त्यस्तै हिउँदको समयमा लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान र किर्गिस्तानबाट आउने गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार तथा डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ ।त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध करिब पाँच÷पाँच सयको सङ्ख्यामा रहेको बताइएको छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारी छ ।पोखरा पक्षी समाजले विगत १० वर्षयता प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ । समाजले पोखराका पाँच ठाउँ घाचोक, पुम्दीभुम्दी, पुरानो एवम् नयाँ ल्यान्डफिल साइट र दोभिल्लामा यसवर्ष पनि गिद्ध गणना गरेको अध्यक्ष घिमिरेले जानकारी दिएकाछन् ।
