
तुलसीपुर १५ मंसिर । सोनापुर मिनरल्स एण्ड आयल प्रा.लि. दुधरास दाङले २ करोड बढि कर तिर्न बाँकी रहेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । सम्पत्ति कर र सिमेन्ट उत्पादन कर वापत २ करोड ४७ लाख ५२ हजार ३ सय ७४ रुपैयाँ कर तिर्न बाँकी रहेको तुलसीपुर उपमहानगरपालिका आर्थिक समितिका संयोजक माधव वलीले जानकारी दिएकाछन्।
५ वर्षको अवधिमा उद्योगबाट उत्पादन भएको १ करोड ३९ लाख ३२ हजार ९ सय ६५ बोरा सिमेन्टको ९७ लाख ५२ हजार ३७४ रुपैयाँ र ८६ बिघा जग्गाको सम्पत्ति कर वापत एक करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको आर्थिक समितिका संयोजक वलीले बताएका हुन् । उपमहानगरपालिकाको राजश्व शाखाका अनुसार आर्थिक वर्ष २०७२र२०७३ देखि २०७९र२०८० सम्म उद्योगले भोग चलन गर्दै आइरहेको ८६ बिघा जग्गाको ९ वर्षको सम्पत्ति कर वापत एक करोड ५० लाख नबुझाएको देखिन्छ ।
तिर्न बाँकी रकम

त्यसैगरी उद्योगले २०७६ र २०७७ मा उत्पादन भएको ५५ लाख ७२ हजार ७ सय ८६ बोरा सिमेन्टको प्रति बोरा २ पैसाको दरले ५५ लाख ७२ हजार ७ सय ८६ रुपैयाँ तिर्न बाँकी छ । त्यसैगरी २०७८ देखि २०८० सम्म तीन वर्षमा उत्पादन भएको ८३ लाख ५९ हजार एक सय ८९ बोरा सिमेन्टको ५० पैसाका दरले ८३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ तिर्न बाँकी रहेको छ कर नर्तिने उद्योगलाई के गर्दै छ उपमहानगरपालिका

आर्थिक समितिका संयोजक माधव वली
सोनापुर मिनरल्स एण्ड आयल प्रालिले ठूलो मात्रामा तिर्नुपर्ने कर नतिरेपछि त्यसलाई कानुनी दायरामा ल्याउन विभिन्न उपाय खोज्न थालेको छ । पहिलो चरणमा विभिन्न पत्र लेखेर कर बुझाउन ताकेता गरेको उपमहानगरपालिकाले त्यसबाट कुनै उपाय नलागेपछि विद्युतलाई लाइन काट्न पत्राचार गरेको छ । उपमहानगरपालिकाले बिहीबार लेखेको पत्रमा सोनापुर सिमेन्ट उद्योगले कर नबुझाएकाले लाइन काटेर सहयोग गरिदिन नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रलाई पत्राचार गरेको संयोजक वलीले बताएकाछन् । त्यसबाट पनि पार नलागे कानुनी लडाइका लागि अदालतमा मुद्दा हाल्ने उपमहानगरपालिकाले जनाएको छ । ठुला उद्योग भएकाले टेरेको छैन् । बारम्बार पत्र पठायौँ तर सुनवाई भएन । अब विद्युतलाई लाइन काट्न पत्राचार गरेका छौ । त्यसबाट पनि निकास नआए कानुनी बाटो मार्फत अदालतमा मुद्दा हालेर करको दायरामा ल्याउँछौ ।’ आर्थिक समितिका संयोजक वलीले भनेकाछन् ।
के भन्छन् उद्योगका महाप्रबन्धक पाठक ?

सिमेन्ट उद्योगका महाप्रबन्धक हरि प्रसाद पाठक
यता सोनापुर मिनरल्स एण्ड आयल प्रालिले करै करको भारी बोक्न नसकिने बताएको छ । कोभिड महामारीबाट प्रभावित हुँदै आर्थिक मन्दिसम्म आउँदा करोडौँ लगानीका उद्योगहरू अहिले चौपट हुने अवस्थामा पुगेका बेला करको दायरा बढाएर उपमहानगरले उद्योगलाई प्रवर्द्धन भन्दा पनि विस्थापित गर्न खोजेको सिमेन्ट उद्योगका महाप्रबन्धक हरि प्रसाद पाठकले आरोप लगाएकाछन् । हामी कर तिर्दैनौ भनेका छैनौ । कर तिर्छौ। तर आर्थिक सङ्कटका बेला किन करको दायरा बढाउनुभयो भन्ने हाम्रो प्रश्न हो । अर्को कुरा हाम्रा जस्तै उद्योग दाङमा अरु पनि छन् । उनीहरूलाई स्थानीय सरकारले कर नलिने हामीलाई लिने ठिकै छ पालिका अनुसार आआफना काननु बने पनि त सुहाउँदो गरि कर त लगाउनु प¥यो ।’ महाप्रबन्धक पाठकले भने ।
के प्राधिकरणले उद्योगमा गएको लाइन काट्छ ?
यता नेपाल विद्युत विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले सिमेन्ट उद्योग आफ्नो ग्राहक नभएकाले तुलसीपुर उपमहानगरपालिकाबाट आएको पत्रलाई घोराही वितरण केन्द्रमा फर्वाड गरेको बताएको छ । उत्पादन कर र सम्पति कर नतिरेकाले लाइन काटीदिनुपर्यो भनेर पत्र आएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले बताए । सरकारी कार्यालय बिचमा समन्वय हुनुपर्छ । हाम्रो ब्ल्याक लिस्टमा परेका ग्राहकलाई पनि सेवा सुविधा रोकिदिनु भनेर वडा र पालिकासँग चिठ्ठी लेखेर सहयोग माग्ने गरेका छौ । उनीहरूले पनि सहयोग भने भने हामीले पनि गर्नुपर्छ । तर घोराही प्राधिकरण अन्तर्गत पर्ने भएकाले उसले गर्छ होला ।’ वितरण केन्द्र प्रमुख शिवनारायण गोसलीले बताए ।
