दाङ, ३० भदौ । सल्यानको एक विद्यालयमा मौलिक लोक संस्कृति अन्तर्गतको ग्रामीण स्तरमा नाचिने पैंसरु नाच प्रदर्शन गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ कपुरकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा मौलिक पैँसरु नाच प्रदर्शन गरिएको हो । विशेष गरेर कपुरकोटगाउँपालिकाको कालापात्ला, गैरीबाङ,गर्पा,गोठीबन, सिमलकुना,दानबाङ,कपुरकोट किमुचौ, रिमामा नाचिने पैँसरु नाच एक महत्वपूर्ण कला हो । सङ्गीतको तालमा लयबद्ध नाचिने नृत्यले शरीरको चाललाई दर्शाउँछ । कपुरकोट गाउँपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा समावेश गरिएको विषयवस्तु अनुसार विद्यार्थीहरूको प्रयोगात्मक शिक्षण सिकाइका लागि पैँसरु नाच प्रदर्शन गरिएको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि केसीले जानकारी दिएका थिए । ग्रामीण स्तरको मौलिक सम्पत्तिको रुपमा रहेको पैँसरु नृत्य पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेका बेला कपुरकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेर विद्यार्थीहरू मार्फत पैँसरु नाचको संरक्षण गर्दै पुस्तान्तरण गर्ने प्रयास थालेको छ । जस अनुसार कालिका माध्यमिक विद्यालयमा नाच प्रस्तुत गर्दै पैँसरु नाचको दोस्रो पुस्तका अगुवा डिल बहादुर थापाले पुर्खाहरूले नाच्ने गरेको नाच जानी नजानी नाचेर संरक्षण गर्ने अभियानमा लागि गरेको बताउनु भयो ।पैँसरु नाच ठूलाठूला मादल र बाँसुरीको २२ तालमा नाचिन्छ । पैँसरु नाचको आफ्नै बिभिन्न विशेषता छन् । पैँसरु नाच नाच्दा शारीरिक व्यायाम भएर शरीरका बिभिन्न मांसपेसीहरूलाई मजबुत बनाउँछ । भने धार्मिक रुपमा दशैँको नवदुर्गा अन्तर्गतको कालरात्रीका दिनबाट सुरु गरेर तिहार सम्म नाचेर विसर्जन गरिन्छ । पछिल्लो समय पैँसरु नाच ग्रामीण भेगमा सञ्चालन हुने बिभिन्न ऐतिहासिक बोकेका पौराणिक मेलाको आकर्षणको केन्द्रबिन्दु समेत बन्दै गएको छ ।
