थर्कोट समाचारदाता
तुलसीपुर, २३ कार्तिक ।

खाना पकाउने क्रममा अग्नी जलनमा परेकी पम्फी पुनलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उपचारका लागि काठमाडौँ पठाएकाछन् । उपचार गर्नका लागि तुलसीपुर प्रादेशिक अस्पतालमा सम्भव नभएपछि बिहीबार साँझ नगरप्रमुख खड्काले व्यक्तिगत रुपमा उनलाई काठमाडौँ पठाएका हुन् । तुलसीपुर १९ सुंगुरखोलाकी २८ वर्षिय पम्फी पुन कार्तिक ९ गते खाना पकाउने क्रममा अग्नी जलनमा परेकी थिर्यन् । उनका श्रीमानले कार्तिक १० गते राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याएका थिए । अस्पतालमा डाक्टरहरुले यहाँ उपचार गर्न सम्भव नभएको तत्काल अन्यत्र लैजान सुझाव दिएका थिए । आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार गर्न नसकी घरमै लैजानुपरेको उनका श्रीमान् बुद्धिराम पुनले बताएका थिए । बुद्धिराम पुन अग्नीजलनबाट पीडित श्रीमतीको उपचारका लागि आर्थिक जोहो गर्न बुधबार अर्थात् कार्तिक २२ गते वडा कार्यालयबाट सिफारिस ल्याएर तुलसीपुर उपमहानगरपालिका कार्यालयमा आएका थिए। नगरप्रमुख खड्काले तत्कालै पालिकाबाट आर्थिक सहयोग गर्न नसकेपनि राप्ती प्रादेशिक अस्पतालबाट काठमाडौँसम्म पुग्न लागि पालिकाकाबाट एम्बुलेन्स सेवा निःशुल्क व्यवस्था गरि दिएका थिए। उनले तत्कालैका लागि त्यहाँ पुगेपछि उपचारका लागि व्यक्तिगत तर्फबाट रकमको व्यवस्था गरेको पनि बताएका थिए।

त्यस्तै वडा नम्बर १९ वडा कार्यालयबाट समेत उपचारका लागि तत्कालै सहयोग पुगोस् भन्ने ध्येय राखेर रकम उपलब्ध गराएको वडा सदस्य रामबहादुर पौडेलले बताएका थिए । अग्नी जलनबाट पम्फीको अनुहारमा घाँउ भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जलन भएको करिब १५ दिन पछि मात्रै काठमाडौ पठाइएको छ । नगरप्रमुख खड्काले समयमै जानकारी प्राप्त नहुँदा पम्फीलाई उपचारमा सहयोग गर्न नसकिएको बताएका थिए। उनले पम्फीको उपचारमा आर्थिक अभावकै कारण खड्को नपरोस् भन्ने हेतुका साथ आर्थिक संकलनको अभियाननै थाल्ने र पालिकाबाट कार्यपालिका निर्णय गरेर थप रकम उपलब्ध गराउने बताएका थिए। पम्फीको उपचारका लागि यस क्षेत्रका युवाहरुले समेत सहयोग गरेका छन् । बिहीबार मात्रै करिब तीस हजार रकम संकलन गरेर उनका श्रीमानलाई रकम हस्तान्तरण गरिएको युवा सुशील खड्काले बताएका छन् । पम्फीका पाँच जना सन्तान रहेका छन् । श्रीमान् बुद्धिराम पुनले आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारमा सहयोग गर्नका लागि अनुरोध गरेका छन् ।
