तुलसीपुर १६ कार्तिक
तुलसीपुर मेट्रो कलेजमा कृषि अध्ययनरत विद्यार्थीहरुलाई बजार व्यवस्थापन र उद्यमशिलताका बारेमा विभिन्न जानकारी गराइएको छ । चाडपर्वलाई लक्षित गरेर पुष्प खेती गरिरहेका विद्यार्थीहरुलाई बजारसँग जोड्नका लागि बजारीकरणका विभिन्न तरिकाका बारेमा जानकारी गराइएको थियो । विद्यार्थीहरुलाई अभिमुखिकरण गर्दै युवा उद्यम विनिल केसीले मुल्य निर्धारण देखि उपभोक्ता आकर्षणसम्मको प्रक्रियाका बारेमा जानकारी गराएका थिए । ‘हामीले कुनै पनि वस्तुको लागत मुल्यलाई ख्याल गरेर बजार मुल्य निर्धारण गर्नुपर्दछ, अरुको देखासिकीमा मुल्य निर्धारण गर्दा नोक्सान हुने सम्भावना रहन्छ ’ उनले भने । उद्यमशिलता तर्फ युवाहरुलाई लक्षित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै व्यवसायमा उतार चढाव झेल्न सक्ने व्यक्ति नै सफल बन्ने उनको सुझाव थियो ।


कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका आर्थिक विकास समितिका संयोजक माधव ओलीले उपमहानगरपालिकाले नवप्रवर्तनात्मक व्यवसाय गर्ने युवाहरुलाई प्रारम्भिक लगानी गर्नमा सहयोग गरिरहेको कुरामा जोड दिएका थिए । कलेज प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञानका लागि कलेजले विभिन्न परियोजना सञ्चालन गरिरहेको बताएका थिए । ‘हामीले आफै पनि केही गर्न सक्छौ भन्ने सोचको विकास गराउनका लागि विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेका छौ’ उनले आफना धारणा राखेका थिए । सो अवसरका कृषि संकाय संयोजक कल्पना वली, प्रशिक्षक घनश्याम केसी, विद्यार्थी सन्दीप मल्ल लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds