थर्कोट समाचारदाता दाङ, ५ आश्विन ।
समुदाय स्तरमा सचेतिकरण अभियानलाई तिब्रता दिएमा मात्र बाल विवाहको अन्त्य हुने सल्यानका सरोकारवालाहरुले एक कार्यक्रमकामा बताएका छन् । बाल विवाह न्यूनिकरणका लागि भइरहेको कार्यलाई थप प्रभावकारी बनाउन पालिकासँगै वडा र समुदाय केन्द्रीत कार्यक्रम गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् । बाल विवाह विरुद्धको साझा अभियान संजाल सल्यानले खलंगामा सम्पन्न बैठकमा सहभागिताहरुले पालिकासँगै वडा, समुदाय र बिद्यालय स्तरमा बाल विवाह विरुद्धको अभियानलाई केन्द्रीत गर्न सकेको खण्डमा बाल विवाह न्यूनिकरणमा सफलता हात पार्ने बताएका हुन् ।

फास्टर्न एक्सनका राष्ट्रिय कार्यक्रम संयोजक सम्राट कटुवालले कर्णाली प्रदेशमा नै सल्यान सबैभन्दा धेरै बाल विवाह गर्ने जिल्लामा पर्ने भएकाले त्यसको न्यूनिकरणको लागि सबैको साझा पहल आवश्यक रहेको बताएका थिए । बाल अधिकार, संविधान सहित विभिन्न कानुन र त्यस सम्बन्धि व्यवस्थाहरुको बारेमा समुदाय स्तरबाट नै सचेतिकरणका अभियान सञ्चालन गर्नसके बाल विवाह अन्त्य गर्न सकिने उनले बताएका थिए । यस्तै बाल विवाह विरुद्धको साझा अभियानका कार्यक्रम संयोजक चेतन गिरीले विभिन्न कारणले बाल विवाह बढेकोले त्यसलाई न्यूनिकरण गर्न सबै सरोकारवालाहरुले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यस्तै बाल विवाह विरुद्धको साझा अभियान संजाल सल्यानका संयोजक नीम बहादुर नेपालीले नेपालमा बाल विवाह विरुद्ध कानुन निर्माण भएको भएपनि त्यसको कार्यान्वयन नहुँदा बाल विवाहमा अपेक्षित रुपमा कमि आउन नसकेको बताएका थिए। परिवारले गरिदिने विवाह भन्दा अहिले आफै गर्ने बाल विवाह अत्याधिक रहेको भन्दै बस्ती स्तरमा नै पुगेर उनीहरुलाई सचेत बनाउदै लैजानुपर्ने उहाँको भनाइ छ । स्थानीय स्तरमा हुने बाल विवाहमा सहभागि नहुने, बाल क्लव तथा समुह मार्फत परिवार तथा बालबालिकालाई बाल विवाह नगर्न अभिप्रेरित गर्न आवश्यक रहेको बताएका थिए ।
यस अभियानले जिल्लाको शारदा नगरपालिकासँगै कपुरकोट र त्रिबेणी गाउँपालिकामा बाल विवाह न्युनिकरणका लागि पालिकासँग समन्वय गरेर काम गर्दै आएको छ । बैठकको सहजीकरण सहसंयोजक मिना बुढाथोकीले गरेकी थिइृन् ।
