थर्कोट समाचारदाता
दाङ, ५ असोज ।
सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबिच शुक्रबारऔपचारिक वार्ता हुँदै बसेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घसँग सकारात्मक छलफल भइरहेकाले आजै सहमतिको प्रयास गर्ने जानकारी दिएका छन्। शिक्षकहरुको आन्दोलनका कारण आज पनि देशभरका धेरैजसो सामुदायिक विद्यालय बन्द हुने भएका छन् । हिजो पनि विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । विद्यालय बन्द गरेरै आन्दोलन गरेका शिक्षकलाई पठनपाठन नरोक्न चौतर्फी दबाब बढिरहेको छ । तर उनीहरुले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनमा रहने बताएका छन् । शिक्षकहरुले राहत, करार लगायतका अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरुलाई स्थायी गर्नुपर्ने, विद्यालयमा कर्मचारीहरुको दरबन्दी कायम गरी स्थायित्वको प्रक्रियामा लानुपर्ने र प्रारम्भिक बाल शिक्षालाई विद्यालय संरचना अन्तर्गत ल्याउनुपर्ने माग गरेका छन् । त्यस्तै, शिक्षकहरुको आवधिक बढुवा हुनुपर्ने, योग्य शिक्षकलाई माथिल्लो तहमा पद समायोजन गरिनुपर्ने, निजामती सेवामा जस्तै विशिष्ट श्रेणी तोकिनुपर्ने र ग्रेड तथा तलबको विभेद हटाइनुपर्ने, प्रधानाध्यापकको नियुक्ति पालिकाबाट नभइ शिक्षा आयोगमार्फत् नै गरिनुपर्ने लगायतका माग राखेका छन् ।

