जाजरकोट
४-मंसिर/ चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण मृत्यु भएको हो ।

चिसोका कारण केही दिनदेखि बिरामी भएकी छोरीको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । जाजरकोटमा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको सङ्ख्या नौ पुगेको छ ।
त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । भेरी नगरपालिका १ र २ मा मात्र २५ जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन् ।
