कलिलो उमेर मै आमा बन्दै किशोरी

Byदोर्ण के.सी.

८ आश्विन २०८०, सोमबार १२:५६ ८ आश्विन २०८०, सोमबार १२:५६ ८ आश्विन २०८०, सोमबार १२:५६

तुलसीपुर, ८ असोज । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा पुगेर मात्रै २० वर्ष मुनिका झण्डै ४ सय जना किशोरीले बच्चा जन्माएका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले दिएको तथ्याङक अनुसार वितेको आर्थिक वर्षमा मात्रै ३ सय ५७ जना २० वर्षमुनिका किशोरीले राप्ती प्रादेशिक अस्पतालमा पुगेर बच्चा जन्माएको अस्पतालले जनाएको छ । २० वर्ष पुगेपछि मात्रै विहे गर्ने कानुनी व्यवस्था रहेको भएपनि यो व्यवस्था कता जाँदै छ भन्ने कुरा यो तथ्याङ्कले स्पष्ट रुपमा देखाएको छ । यस्तै सानै उमेरमा विवाह गरेर बच्चा जन्माउँदा महिलाहरुको स्वास्थ्यमा पछिसम्म पनि असर गर्ने डाक्टरहरुले बताउँछन् । २० वर्ष भन्दा कम उमेरको किशोरीको प्रजनन् क्षमताको विकास भैनसकेको हुँदा बच्चा जन्माउनलाई परिपक्व हुँदैन । त्यसैले स्वास्थ्यका लागि पनि २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने र सन्तान उत्पादनका लागि विचार गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह सुझावहरुलाई पनि वेवास्ता गरिएको देखिन्छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा वितेको तीन वर्षको अवधिमा २० वर्ष मुनि र २० वर्ष माथिका ९ हजार ५ सय १३ जनाले सुत्केरी सेवा लिएका छन् । आर्थिक वर्ष २०७७÷२०७८ मा ३ हजार ९ सय १९ जना, आर्थिक वर्ष २०७८÷२०७९ मा २ हजार ८ सय ८३ र आव २०७९÷२०८० मा २ हजार ७ सय २१ जनाले अस्पतालमा आएर सुत्केरी सेवा लिएको सूचना अधिकारी भुुषण सुवेदीले जानकारी दिनुभयो ।

३ वर्षको अवधिमा राप्ती प्रादेशिक अस्पतालमा सामान्य प्रसुति सेवा मार्फत ७ हजार ३ सय ९५ जना, १ हजार ७ सय ९९ जना शल्यक्रिया मार्फत र २ सय २३ जना भ्याकुम फोरसेप मार्फत प्रसुति सेवा लिएको अस्पतालले दिएको तथ्याँकमा उल्लेख गरिएको छ । विगतको तुलनामा पछिल्लो समय प्रादेशिक अस्पतालमा सेवा लिने महिलाहरुको संख्या केही घटेको तथ्याँकले देखाउँछ । विगतका वर्षहरुमा कोरोना भाइरस संक्रमणका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रसुति सेवा वन्द रहेकाले प्रसुति सेवा लिनका लागि तुलसीपुरमै आउने गरेकाले तथ्याँक पनि बढी थियो । कोरोनाको संक्रमण कम भएसँगै घोराहीमा पनि प्रसुति सेवा सुरु भएपछि यो संख्या घट्दै गएको हो, सुचना अधिकारी सुवेदीले बताएका थिए । यसैविच उमेर नपुगी विवाह गर्न नहुने कानुनी व्यवस्था भएपनि २० वर्ष नपुग्दै एक वर्षको अवधिमा मात्रै बच्चा जन्माउने किशोरीको संख्या ४ सयको हाराहारीमा पुगेपछि यसले कानुनी चुनौति थपिएको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को विवाह गर्न नहुने महलको १७३ ९१०मा विवाह गर्ने व्यक्तीको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने कानुनी व्यवस्था छ । यदि २० वर्ष नपुग्दै विवाह गरेमा विवाह स्वतः वदर हुनुका साथै कसुर गर्ने व्यक्तीलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । बालबालिकासँग सरोकार राख्ने सरोबारवाला निकायले बालविवाह गर्नेहरुको संख्या छैन भनेर दावी गर्ने गरेका छन् तर पनि बालविवाह भने धमाधम भइरहेको अस्पतालले दिएको तथ्याङले पुष्टि गरेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds