हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव सम्पन्न

Byदोर्ण के.सी.

१ फाल्गुन २०८१, बिहीबार १७:२९ १ फाल्गुन २०८१, बिहीबार १७:२९ १ फाल्गुन २०८१, बिहीबार १७:२९

थर्कोट समाचारदाता
दाङ, १ फागुन ।
तुलसीपुरमा रहेको हिमाल एकेडेमीले आफ्नो २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीले दक्ष जनशक्ति उत्पादनमा विद्यालय मात्र नभई अभिभावकहरू जिम्मेवार हुनुपर्ने बताउनुभएको थियो । उहाँले बालबालिकाको अध्ययनको लागि घरमै पनि अनुकुल वातावरण तयार गर्न अभिभावकहरूलाई आग्रह समेत गर्नुभएको थियो । ‘बच्चाहरूलाई विद्यालयमा मात्र पढाएर हुँदैन ।’ उहाँले भन्नुभयो–‘घरमा पनि पढ्न प्रेरित गर्न अभिभावकले पहल गर्नुपर्छ ।’तुलसीपुरमा रहेको हिमाल एकेडेमीले आयोजना गरेको विद्यालयको २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । यस्तै राष्ट्रिय परीक्षा बोर्ड घोराही कार्यालयका प्रमुख कमल अर्यालले योग्य जनशक्ति उत्पादन गर्न अभिभावकले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले शिक्षकको स्थायित्वले शिक्षाको गुणस्तरमा सुधार गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।प्रधानाध्यापक मधुसुदन केसीले हाल हिमाल एकेडेमीमा २ हजार ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभएको थियो ।उहाँका अनुसार अहिलेसम्म १ सय भन्दा बढीले रोजगारी प्राप्त गरिसकेका छन् । ‘हामी विद्यार्थीलाई केवल प्रमाणपत्र दिने होइन, उनीहरूलाई दक्ष जनशक्ति बनाउने लक्ष्यसहित अगाडि बढिरहेका छौँ ।’ उहाँले भन्नुभयो (‘अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हाम्रो प्राथमिकता हो ।’विद्यालय सञ्चालक समिति सदस्य गणेश अधिकारीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा विद्यालयका विभिन्न शिक्षक, अभिभावक, विद्यार्थी तथा समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । माघ २८ गतेदेखि सुरू भएको वार्षिकोत्सव कार्यक्रममा विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम गरिएको हो । वार्षिकोत्सवको समापन समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ । समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुति दिएर उपस्थित दर्शकहरूलाई मनोरञ्जन गराएका थिए । नृत्य, गीत तथा नाटक प्रस्तुतिहरूले विद्यालयको सांस्कृतिक विविधता झल्काएको छ । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक भीमलाल मरासिनीले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds