थर्कोट समाचारदाता
सल्यान, २० मंसिर । समतामूलक तथा समावेशी शिक्षाका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा पालिका स्तरिय बाल सञ्जाल गठन संगै वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका माधयमिक विद्यालयका बाल क्लव पदाधिकारी, श्रोत कक्षाका प्रतिनिधधी विद्यार्थी, प्रधानाध्यापक सहित सरोकारवालाका विच छत्रेश्वरी गाउँपालिकामा बाल अधिकार र श्रोतमा पहुँच विषयेक वृहत अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा शिक्षा क्षेत्र तथा विद्यालय शिक्षाको अवस्था, विद्यमान समस्या एवम् सुधारका विविध पक्षमा महत्वपूर्ण संवाद संगै गाउँपालिका स्तरिय बाल सञ्जाल समेत गठन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जानकारी दिनुभएको थियो । युएसएआइडी समतामूलक तथा समावेशी शिक्षा कार्यक्रम अन्तर्गत बाल अधिकार र श्रोतमा पहुँच विषयेक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षामा गरिएको लगानीले दीर्घकालीन रूपमा समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पु¥याउने भन्दै पालिकाभित्रका सामुदायीक विद्यालयलाई भौतिक, शैक्षिक र प्रशासनिक रूपमा सशक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको थियो । कार्यक्रममा १३ सदस्यीय पालिका स्तरिय बाल सञ्जाल सर्वसम्मत रुपमा गठन गरिएको छ ।जसको अध्यक्षमा शारदा मावि शंखमुलबाट अनिता रेउले अध्यक्ष, भानुभक्त मावि दमाचौरबाट विनिता कुमारी पुन कोषाध्यक्ष, त्रिजमावि भोटेचौरबाट सविना अधिकारी सचिव, महेन्द्र मावि पाखापानीबाट मनोज घर्ती सहसचिव, जानकी मावि दोहलीबाट गणेश बुढा कोषाध्यक्ष र अन्य सदस्यहरु रहेका छन् । बालबालिकाहरुको साझा समस्या तथा सवालहरु अझै संगठित रुपमा उठाउन, बाल क्लवहरु बीच आपसी सहयोग, समन्वय र सहकार्य बढाउन र फरक फरक सिकाईहरुलाई आदानप्रदान गर्न र बालबालिकाहरुको सर्वोत्तम हित र विकासका लागि थप अवसरहरुको सृजना तथा खोजी गर्नका लागि बाल क्लवहरुको संजाल गठन गरिएको हो । उद्देश्य अनुरुप सक्रिय रुपमा अघि बढ्न सञ्जाललाई आग्रह गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले नवगठित सञ्जालका पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बुढाथोकी सहित प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, शिक्षा शाखा प्रमुख केशर वली, स्वास्थय शाखा प्रमुख गणेशमान डाँगीले अन्तरक्रियामा उठेका प्रश्न, जिज्ञासाको सम्बोधन गर्दै शिक्षा क्षेत्र र बाल अधिकारका लागि पालिकाले गरिरहेको पहलको बारे अवगत गराएका थिए । युएसएआइडीको आर्थिक तथा प्लान इन्टरनेशनलको प्राविधिक सहयोगमा नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत किडार्क नेपाल मार्फत छत्रेश्वरी गाउँपालिकामा समतामूलक तथा समावेशी शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रममा परियोजना संयोजक दिपेन्द्र कुमार शाहीले समतामूलक तथा समावेशी शिक्षा र यसको महत्वको बारे प्रकाश पारेका थिए । सहभागि विद्यार्थी तथा प्रअहरुले आआफ्नो विद्यालयमा सौचालय, खानेपानी तथा फोहोर व्यवस्थापन जस्ता समस्या रहेको, विद्यालयको भौतिक पूर्वाधार संगै त्रिजमावि भोटेचौरमा सञ्चालित श्रोत कक्षा र छात्रावासको व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा सुझाव, प्रश्न र अपेक्षाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार शंकर केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds