











टिका के.सी.
दाङ ३० चैत ।
तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयाोजना गरि आफ्नो ३२औँ स्थापना दिवस भव्य रूपले सम्पन्न गरेको छ । स्थापना दिवसलाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्वर ३ का सांसद दिपक गिरीले समग्र दाङ तुलसीपुरको विकासका लागि सबै दल एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले अगाडि भन्नु भयो हामी फरक दलबाट चुनाव जितेका छौँ । दल फरक भएपनि यस क्षेत्रको विकासका लागि दल भन्दा माथि उठेर एकजुट हुनुपर्छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद गिरीले भने मैले विकासका सवालमा कसैलाई पक्षपात गर्ने छैन् । समग्र तुलसीपुरको सम्वृद्विका लागि टरीगाउँ विमानस्थल स्तरोन्नती गर्नुपर्नेमा जोड दिँदै त्यसकालागि जनदबाब आवश्यक रहेको बताउनुभएको थियो । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासका लागि आफु प्रतिबद्व भएको भन्दै

त्यसका लागि सबै दलको सहयोग अपरिहार्य भएको बताउनुभएको थियो । कहिलेकाहीँ दलीय आस्थाका कारण विकास निर्माणमा समस्या उत्पन्न हुने भन्दै मेयर खड्काले विकासमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको थियो । टरीगाउँ विमानस्थल विस्तार गर्न आफु प्रतिबद्व भएको भन्दै मेयर खड्काले विमानस्थल विस्तार स्थानीय सरकारले गर्न नसक्ने भएकाले त्यसकालागि प्रदेश र संघीय सरकारलाई दबाब दिनुपर्ने बताउनुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर स्यानी चौधरी,नेपाली काँग्रेसका नगर सभापती सुरेर हमाल,एमालेका सचिव रूपबहादुर खत्री,माओवादी रामबहादुर दहित लगाएतकाले आफुहरू विकासका लागि एकठाउँमा उभिने प्रतिवद्वता जनाउनुभएको थियो । स्थापना दिवसमा उत्कृष्ट काम गरेको भन्दै वडा नम्वर १८ का सचिव रामकुमारी मरासिनी र जनस्वास्थ्य फोकल पर्सन विमल केसीलाई सम्मान गरिएको थियो । त्यसैगरी सर्प उद्दारकर्ता प्रभात भण्डारीलाई समेत सम्मान गरिएको थियो ।



