




थर्काेट समाचारदाता
तुलसीपुर, ११ माघ
बेलुवामा रहेको सगरमाथा स्कुलले आज एक प्रेरणामूलक मोटिभेसनल क्लास सफलतापूर्वक सम्पन्न गरेको छ। तुलसीपुर–९, बेलुवास्थित मेट्रो होटलमा आयोजित उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका सभापती विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले विद्यार्थी जीवनमा अनुशासन, लक्ष्य निर्धारण र सकारात्मक सोचको अत्यन्तै ठुलो भूमिका रहने बताउनुभएकाे थियो । उहाँले यस्ता मोटिभेसन क्लासहरूले विद्यार्थीहरूमा आत्मविश्वास, लगनशीलता र भविष्यप्रति स्पष्ट दृष्टिकोण विकास गर्न मद्दत पुग्ने उल्लेख गर्नुभएकाे थियो।
कार्यक्रमका प्रमुख अतिथि एवम् प्रमुख प्रशिक्षक डा. चिन्तामणि योगीले विद्यार्थीहरूलाई उद्देश्यपूर्ण जीवन, समय व्यवस्थापन, निरन्तर अभ्यास र असफलताबाट सिक्ने बानीका बारेमा प्रेरणादायी मन्तव्य राख्नुभएकाे थियो। उहाँको सरल, व्यावहारिक र ऊर्जाशील प्रस्तुतीले विद्यार्थीहरूलाई अत्यन्तै उत्साहित बनाएको थियो। कार्यक्रमका बिशिस्ट अतिथि योग गुरु डा. प्रेम शाहले विद्यार्थी जीवनमा योग शिक्षा आवश्यक भएको बताउनु भएकाे थियो।
कार्यक्रममा विद्यालयका एकाडेमिक हेड तिलक डांगीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले यस्ता प्रेरणामूलक कक्षाहरूले आफूहरूलाई पढाइप्रति अझ जिम्मेवार र लक्ष्यप्रति केन्द्रित बन्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए। विद्यालय परिवारले यस्ता शैक्षिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

