



थर्कोट समाचारदाता
दाङ, २८ भदौ ।
लुम्बिनी, लगायत कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको थियो । दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, डोटी, डडेलधुरा, दैलेख, अछाम, बैतडी, बाजुरा, बझाङ, र दार्चुलालगायतका स्थानहरूमा बिहीबार दिनभर भारी वर्षा भएको थियो। भारतको मध्यप्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा भारी वर्षाको प्रक्षेपण गरिएको हो । पछिल्लो ६ घण्टामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा ठूलो पानी परेको थियो । डडेलधुराको साहुखर्कमा ९६ मिलिमिटर, कैलालीको बचिलामा ८१ मिलिमिटर र दाङको सुखबारेमा ७१.८ मिलिमिटर पानी परेको थियो। दाङको पदमपुर, सुक्रबारे र गङ्गदी क्षेत्रमा भारी वर्षा मापन भएको हो । थप वर्षा हुन सक्ने भएकाले बबई नदी, राप्ती नदी, र अन्य साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम हुन सक्ने सम्भावना रहेकोले, सतर्कता अपनाउन महाशाखाले चेतावनी दिएको थियो । यस्तै, डोटी, सुर्खेत, अछाम, बैतडी, कञ्चनपुर, र बर्दियालगायतका स्थानहरूमा पनि वर्षा भइरहेको छ । बर्दियाको बबई नदीमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेकोले, नदी किनारका तटीय क्षेत्र तथा होचा भूभागहरूमा बसोबास गर्नेहरूलाई बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भारी र धेरै भारी वर्षाको कारण बाढी, पहिरो, तथा भू(क्षयजस्ता प्रकोपको जोखिमबाट बच्न सतर्क रहन आग्रह गरेको छ ।







